काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले रसुवा बाढीका कारण सुरुङ तथा विद्युत् गृहमा फसेका नागरिकको खोज तथा उद्धारका लागि प्राविधिक स्रोत र जनशक्ति बढाउन सरकारसँग आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पुनले बाढी प्रभावित क्षेत्रमा तत्कालीन तथा दीर्घकालीन उद्धार र राहतका लागि आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर १८ बुँदे सुझाव दिएको जानकारी दिए।
पुनले सुरुङ र विद्युत् गृहमा फसेका नागरिकको खोज तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।
‘सुरुङ र विद्युत् गृहमा फसेकाहरूको खोज, उद्धारका काम चाँडो होस् र राहत वितरण कार्यलाई प्रभावकारी बनाइयोस्,’ उनले भने, ‘खासगरी बालबालिका, वृद्धहरू र सुत्केरीलाई प्राथमिकीकरण गर्नुपर्छ। त्यतिमात्र होइन, प्रभावित क्षेत्रमा मनोपरामर्श पनि आवश्यक छ।’
उनले विपद्बाट अभिभावक गुमाएका बालबालिकाको संरक्षणका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताए। बुबा–आमा दुवै गुमाएका बालबालिकालाई कम्तीमा स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने उनको माग छ।
पुनले प्रभावित बालबालिकाका लागि सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने, साथै प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खानेपानीको सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताए।
उनले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै त्रिशूली सभ्यताको संरक्षणमा समेत सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे।
पुनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणलाई दीर्घकालीन योजनाका रूपमा अघि बढाउँदै प्रभावित नागरिकको जीवनयापन सहज बनाउने गरी राज्यले आवश्यक कदम चाल्नुपर्ने बताए।



