CLI
Global College

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन्: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताएका छन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्‍याएको उल्लेख गरेका छन् ।

यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ । यस पर्वमा शिव र पार्वती (गौरा)को पूजाअर्चना गरी व्रत बस्ने गरिन्छ । पर्वमा गहुँ, धान, केराउ, मास र गहतजस्ता पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गरी मानवीय जीवन, कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ ।

गौरा पर्वका अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी आदिका माध्यमबाट एकअर्काका दुःख र सुख बाँड्ने गर्दछन् । राष्ट्रपतिले यस पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति–पत्नीबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेको उल्लेख गरेका छन् ।

Leave Your Comment

Related News