काठमाडौं । नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको बरफ र चट्टानसहितको हिमस्खलनबाट चीनको जिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित चीन–नेपाल सीमाको जाइरोङ नाकामा लेदोको बाढी आएपछि चिनियाँ उद्धारकर्मीले खोज तथा उद्धारलाई तीव्रता दिएका छन् । अगस्ट २६ को घटनामा २१ जनाको मृत्यु पुष्टि भएको छ भने ५४१ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ ।
चिनियाँ अधिकारीका अनुसार करिब पाँच हजार २०० मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालको हिमनदीको ठूलो भाग खसेपछि बरफ र चट्टान तीव्र गतिमा तल झरेको थियो । करिब चार हजार मिटर तल पुग्दा त्यसले पहाडको माटो तथा अन्य सामग्री बगाउँदै ठूलो लेदोको बाढीको रूप लिएको र करिब २२ किलोमिटर तल रहेको जाइरोङ नाकासम्म पुगेको थियो ।
यसैबिच, चीनले नेपालमा राहत तथा उद्धार सहयोग जारी राखेको छ । चिनियाँ राहत सामग्री र डिएनए विज्ञहरूको अर्को टोली बिहीबार हवाई मार्गबाट काठमाडौँ आइपुगेको छ । टोलीले मृतक तथा बेपत्ताको पहिचानमा सहयोग गर्ने बताइएको छ ।
कठिन भौगोलिक अवस्था र थप प्राकृतिक विपद्को जोखिमबीच जाइरोङ नाकामा सम्भावित जीवित व्यक्तिको खोजी तथा मृतक र बेपत्ताको पहिचानका लागि उद्धार कार्य जारी रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।



