काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज बिहान जीवितै उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्का व्यक्तिको अवस्था सामान्य छ।
सुरुङभित्रबाट दोस्रो पटक उद्धार गरिएका ४५ वर्षीय कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ। उनलाई उद्धारलगत्तै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष मा भर्ना गरी उपचार जारी राखिएको छ।
यसैगरी, सुरुमा उद्धार गरिएका ३० वर्षीय सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको छ। प्रारम्भिक स्वास्थ्य जाँचमा अवस्था सामान्य देखिए तापनि थप परीक्षण र निगरानीका लागि उनलाई पनि छाउनीस्थित सैनिक अस्पतालमै ल्याइँदै छ।
आयोजनाभित्र प्राविधिकहरू फसेको आशङ्कापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञहरूको संयुक्त टोलीले आज बिहानै चौबिसै घण्टाको अथक प्रयासपछि उनीहरूलाई जीवितै बाहिर निकाल्न सफलता प्राप्त गरेको हो।



