काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।
रसुवाको भोटेकोशी जलाधार क्षेत्रसहित बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत तथा पुनर्निर्माणका लागि हुआङले उक्त रकम सहयोग गरेका हुन्। यो रकम नेपाली रुपैयाँमा करिब १ अर्ब ५० करोडभन्दा बढी हुन्छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत सहयोगको पुष्टि गर्दै हुआङप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेका छन्। उनले हुआङको सहयोगले अन्य व्यक्ति तथा संस्थालाई पनि विपद्का बेला सहयोग गर्न प्रेरित गर्ने बताएका छन्।
यो सहयोग बाढीपहिरोबाट प्रभावित नेपाललाई कुनै बहुराष्ट्रिय कम्पनी वा व्यक्तिले दिएको ठूलो सहयोगमध्ये एक भएको जनाइएको छ। अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको सहयोगपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
कोषमा जम्मा भएको रकम रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लामा तत्काल राहत, विस्थापितको पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा प्रयोग गरिने सरकारको भनाइ छ।



