काठमाडौं । नेपालमा हालै आएको भीषण बाढी र त्यसपछिको अकल्पनीय क्षतिप्रति अस्ट्रेलिया सरकारले गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अस्ट्रेलियाका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन वार्ता गरी उक्त दुःखद घटनाप्रति समवेदना प्रकट गरेका हुन्।
टेलिफोन संवादका क्रममा अस्ट्रेलियाली प्रधानमन्त्रीले नेपालमा भएको धनजनको अपूरणीय क्षतिप्रति अस्ट्रेलियाली जनता र सरकारका तर्फबाट समवेदना व्यक्त गरे। उनले विपत्को यस कठिन समयमा अस्ट्रेलिया नेपालको साथमा रहेको र अत्यावश्यक मानवीय सहायता, उद्धार सामग्री, उपकरण तथा विशेषज्ञ क्षमतामार्फत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
यसैबिच, बाढी तथा प्राकृतिक विपद्मा परी केही अस्ट्रेलियाली नागरिकहरू समेत सम्पर्कविहीन रहेको भन्दै उनीहरूको खोजीका लागि हरसम्भव प्रयास जारी राखिने अस्ट्रेलियाली प्रधानमन्त्रीले बताए। सम्पर्कविहीन रहेका आफ्ना नागरिकका परिवार तथा आफन्तजनप्रति सहानुभूति व्यक्त गर्दै उनले उद्धार र खोजी कार्यलाई निरन्तरता दिइने जानकारी दिएका छन्।



