काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रुख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो ।
निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटरले ट्र्याक खोल्न थालिएको हो । माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन् । छेउको भागबाट सात मिटर पर ट्र्याक खोल्न लागिएको उनले जानकारी दिए । उनका अनुसार एक सातादेखि १० दिनभित्र ट्र्याक खोल्ने काम सकिने छ ।
यसअघि सञ्चालनमा रहेको झण्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ । यहाँ १० मिटर फराकिलो सडक रहेको थियो । त्रिशूली नदीले फेदमा रहेको मजबुत संरचनासमेत बगाएपछि सडक भासिएको हो । यही भदौ १४ गते उक्त सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ ।
सरकारले यथासक्य छिटो यो सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिइसकेको छ । भदौ महिनाभित्र कृष्णभीर सञ्चालन गर्नेगरी काम अघि बढाइएको छ ।
उक्त सडकलाई मर्मतसम्भार गरिएपछि २०६० साल यता सो खण्डमा यातायात सञ्चालन सहज भएको थियो । सडकको दुवैतर्फ कडा चट्टान छ । भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इन्जिनियर मिश्र बताउँछन् । अहिले सोही ठाउँमा समस्या आएको हो । गत वर्ष सोही सडकको छेउपट्टिको भाग भासिएपछि मर्मत भइरहेको थियो ।



