काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा पहिरो खस्दा चमेलिया नदी थुनिएको छ।
निरन्तरको वर्षासँगै आएको ठूलो पहिरोले चमेलिया नदीको बहाव करिब आधा घण्टा पूर्ण रूपमा रोकिएको हो। नदी थुनिएपछि भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन्।
पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिन बग्नुका साथै बस्तीसमेत जोखिममा परेको गाउँपालिकाले जनाएको छ। पछिल्लो समय नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारु हुन थालेको बताइएको छ।
तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्न सक्ने र थप जोखिम निम्तिन सक्ने अवस्था रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए। उनले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको बताए।
जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले भटारका जोखिममा रहेका स्थानीय तथा उनीहरूका वस्तुभाउलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको छ।
वर्षा अझै जारी रहेकाले नदीमा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको भन्दै स्थानीय प्रशासन र गाउँपालिकाले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



