काठमाडौं । जाजरकोटका १८८ भूकम्प प्रभावित लाभग्राहीलाई निजी आवास अनुदान बापतको पहिलो किस्ता रकम भुक्तानी गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहको समन्वयमा आवास पुनर्निर्माण सम्झौता सम्पन्न गरेका प्रभावित परिवारलाई प्रति घरधुरी ५० हजार रुपैयाँका दरले पहिलो किस्ता रकम उनीहरूकै बैंक खातामा पठाइएको हो।
‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३’ बमोजिम सम्झौता प्रक्रिया पूरा भएसँगै लाभग्राहीको खातामा सिधै रकम जम्मा गर्ने व्यवस्था गरिएको हो।
पहिलो किस्ताबापत प्राप्त रकमबाट लाभग्राहीले घरको डीपीसी/प्लिन्थ लेभल सम्मको निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ। प्लिन्थ लेभलसम्मको निर्माण सम्पन्न भइसकेपछि प्राविधिक टोलीले खटिएर गर्ने जाँचपास प्रतिवेदनको आधारमा लाभग्राहीले दोस्रो किस्ता बापतको थप अनुदान रकम प्राप्त गर्नेछन्।



