CLI
Global College

परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री चो ह्युनबीच भेटवार्ता,बाढीपीडितको पुनरोत्थान र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) का विदेशमन्त्री चो ह्युनबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटका क्रममा दुवै परराष्ट्रमन्त्रीहरूले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै बेपत्ता भएका कोरियाली नागरिकहरूको खोजीसम्बन्धी विषयमा छलफल गरे।

परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा अन्तर-निकाय द्रुत प्रतिक्रिया टोली  र कोरियाली विपद् राहत टोली  खटाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गरे। साथै, उनले कोरियाली मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएकोमा सराहना गरे। नेपाल सरकारको अबको प्राथमिकता दिगो, उत्थानशील र सुदृढ पूर्वाधारको पुनरुत्थान तथा पुनर्निर्माण रहेको उल्लेख गर्दै उनले कोरिया सरकारबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

जवाफमा कोरियाली विदेशमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्न कोरिया सरकार इच्छुक रहेको प्रतिबद्धता जनाए। जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूमा भएको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले ‘कोप’  जस्ता विश्वमञ्चहरूमा जलवायु परिवर्तनका असरहरूबारे अन्य देशहरूलाई सचेत गराउन नेपाल र कोरियाले हातेमालो गरेर काम गर्नुपर्ने बताए। अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउनुपर्ने वित्तीय सहयोगका सम्बन्धमा दक्षिण कोरियाले पनि जोडदार रूपमा आवाज उठाउने उनले स्पष्ट पारे।

भेटका क्रममा दुवै मन्त्रीहरूले दीर्घकालीन मित्रता, आपसी विश्वास र सहकार्यमा आधारित द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र उच्च बनाउन निरन्तर घनिष्ट रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

Leave Your Comment

Related News