CLI
Global College

रामेछापमा वृद्धवृद्धालाई बन्धक बनाई डाँका गर्ने गिरोहसहित ७ जना पक्राउ

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकामा वृद्धवृद्धालाई बन्धक बनाई डाँका चोरी गर्ने तथा वृद्ध भत्ता रकम लुटपाट गर्ने घटनामा संलग्न कुल ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। २०८३ भाद्र १८ गते राति करिब १२:०० बजे खाँडादेवी-२ मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङ सुतिरहेको अवस्थामा घरको ढोका फुटाई भित्र पसेको नकावधारी टोलीले उनीहरूलाई प्लाष्टिकको टेपले हात बाँधी, मुख थुनी, आँखामा पट्टी बाँधेर ज्यान मार्ने धम्की दिँदै गरगहना र नगद लुटपाट गरी फरार भएको थियो। उक्त घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले २०८३ भाद्र २० गते भक्तपुरका विभिन्न स्थानबाट डाँका चोरीका सामान, नगद र प्रयोग गरिएका सवारी साधनसहित ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुली घ्याङलेक-०२ का २५ वर्षीय सुमन जर्घा मगर निजी विद्यालयका चालक, रामेछाप खाँडादेवी-२ का ३२ वर्षीय दिर्घराज मोक्तान बस सहचालक, सोही स्थानका ३३ वर्षीय पशुपति श्रेष्ठ इनड्राइभ चालक, झापा दमक-०७ का ४४ वर्षीय पिताम्बर गहतराज सुनचाँदी व्यवसायी र धनकुटा बेलाहारा-५ का ३८ वर्षीय गुणराज विश्वकर्मा ‘दिपक’ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न दरका नगद  ८३ हजार ६६० , दुई थान मोटरसाइकल (बा. ७३ प ८७१२ र बा. ७२ प ५५८), मोबाइल, नागरिकता, राहदानी, चेकबुक, बैंक खातामा रहेको १  लाख ३१ हाजर ०१४ मौज्दात रकम, बुद्धचित्तको माला, पुराना सिक्का र सुन जस्तो देखिने औँठी तथा रिङ बरामद गरेको छ। प्रहरी अनुसन्धानबाट पशुपति श्रेष्ठको समूह खाँडादेवी-०७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गर्नका साथै स्थानीयका खसी-बोका चोरी गर्ने कार्यमा समेत संलग्न रहेको पुष्टि भएको छ।

साथै, पक्राउ परेकामध्ये दिर्घराज मोक्तान अभद्र व्यवहार कसूरमा, पशुपति श्रेष्ठ काठमाडौँमा सुनको सिक्री लुटपाट घटनामा र गुणराज विश्वकर्मा जुवा सम्बन्धी कसूरमा विगतमा पनि प्रहरी कारबाहीमा परिसकेका व्यक्ति हुन्।

यसैगरी, मिति २०८३ भाद्र १८ गते बिहान ०६:०० बजे रामेछाप सुनापती गाउँपालिका-२ दिमीपोखरीका ७५ वर्षीय इमान सिं तामाङको घरको माथिल्लो तला फोडेर वृद्ध भत्ता बापतको  ७८ हजार  चोरी भएको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनापती-२ नयाँ पानी ट्याङ्की टोल बस्ने ३४ वर्षीय आकाश लामा र उनका १९ वर्षीय छोरा सन्दिप तामाङ रहेका छन्।

उनीहरूले चोरी गरेको नगद रकम आफ्नै घरको छानामुनि लुकाई राखेको अवस्थामा फेला पारी बरामद गरेर कानूनी कारवाही अगाडि बढाइएको छ। विगतमा पनि काठमाडौँ तथा रामेछापका विभिन्न स्थानमा डाँका र चोरीका घटनामा संलग्न देखिएकाले यस समूहले अन्यत्र पनि गरगहना तथा नगद लुटपाट गरेको हुन सक्ने सम्भावना रहेको जनाउँदै प्रहरीले त्यस्ता घटनाका पीडित वा जानकार व्यक्तिहरूलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

Leave Your Comment

Related News