काठमाडौं । नेपाल स्काउटले बाढीपहिरोलगायतका विपद्का घटनामा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ। नेपाल सरकारले नेपाल स्काउटको राष्ट्रिय कार्यसमितिमा सन्तोषकुमार थापाको संयोजकत्वमा नयाँ अन्तरिम समिति गठन गरेसँगै संस्थाका गतिविधिले गति लिन थालेका हुन्। नेतृत्वविहीन बनेको केही समयपछि नयाँ संयोजक पाएसँगै नेपाल स्काउटले विशेषगरी भोटेकोशी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालनलाई प्रभावकारी बनाएको जनाएको छ।
विपद् आएको पहिलो दिनदेखि नै संयोजक थापाको सक्रियतामा स्काउटका स्वयंसेवकहरू विभिन्न टोली बनाएर उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिएका छन्। सरकारी विपद् व्यवस्थापन संयन्त्रसँग प्रत्यक्ष समन्वय गर्दै स्काउटले खोज तथा उद्धार, खाना व्यवस्थापन, सामुदायिक भान्सा सञ्चालन, राहत सामग्रीको व्यवस्थापन तथा होल्डिङ सेन्टर सञ्चालनमा सहयोग गर्दै आएको छ।
नेपाल स्काउटले अन्तर्राष्ट्रिय संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’सँगको सहकार्यमा प्रभावित क्षेत्रमा सामुदायिक भान्सा सञ्चालन गरी विपद् प्रभावित नागरिक तथा स्वयंसेवकलाई नियमित रूपमा ताजा खाना उपलब्ध गराउँदै आएको छ। विपद्का कारण बालबालिकामा परेको मानसिक असर कम गर्न तालिमप्राप्त स्वयंसेवकहरूलाई समेत परिचालन गरिएको छ। उनीहरूले प्रभावित बालबालिकालाई खेलकुद, सिर्जनात्मक गतिविधि तथा मनोसामाजिक सहयोग उपलब्ध गराइरहेका छन्।
काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको बसोबास तथा खानपान व्यवस्थापनमा पनि स्काउटका स्वयंसेवक परिचालित छन्। त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत दैनिक २५ जनाभन्दा बढी स्वयंसेवक खटिएका छन्। उनीहरूले राहत सामग्रीको प्याकिङ, वर्गीकरण तथा प्रभावित क्षेत्रमा पठाउने कामलाई व्यवस्थित गरिरहेका छन्।
प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक बालेन्द्र शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सक्रियतामा नेपाल स्काउटको सम्पूर्ण संयन्त्र विपद् व्यवस्थापनमा परिचालित भएको छ। प्रधानमन्त्री शाहले आफ्ना आधिकारिक अभिव्यक्तिमार्फत विपद्को समयमा स्काउट नेतृत्व तथा स्वयंसेवकहरूले पुर्याएको योगदानको प्रशंसासमेत गर्दै आएको छ।
यसअघि आन्तरिक विवाद तथा आरोप–प्रत्यारोपमा अल्झिएका स्काउटका अग्रजहरूसमेत पछिल्लो समय वर्तमान नेतृत्वसँग सहकार्य गर्दै विपद् प्रभावित क्षेत्रमा परिचालित भएका छन्। सीमित स्रोतसाधनका बाबजुद नेपाल स्काउटले उद्धार र राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग समेत समन्वय अघि बढाएको जनाएको छ।
विपद्को समयमा स्वयंसेवक परिचालन, राहत व्यवस्थापन र प्रभावित समुदायलाई तत्काल सहयोग उपलब्ध गराउने कामलाई प्राथमिकतामा राख्दै नेपाल स्काउटले आफ्नो संयन्त्रलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ। उद्धार र राहतसँगै पुनःस्थापनाका काममा समेत सक्रिय सहभागिता जनाउँदै स्काउटले विपद् व्यवस्थापनमा स्वयंसेवी संस्थाको भूमिका थप प्रभावकारी बनाउने प्रयास गरिरहेको छ।



