काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो ३ : ३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। उनले बाढी प्रभावित नागरिकसँग भेट गरी उनीहरूको अवस्था र गुनासोसमेत सुनेका छन्।
अवलोकनका क्रममा राष्ट्रपतिलाई प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टरको अवस्था तथा पुनरुत्थानका प्रयासबारे जानकारी गराइएको थियो।
राष्ट्रपति पौडेलले नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको क्याम्प तथा रसुवाका बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गरेका छन्। स्थलगत अवलोकनपछि काठमाडौं फर्किएर राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ।



