CLI
Global College

सञ्चालन आम्दानीमा ४० प्रतिशतको सुधार, ‘होटल फरेस्ट इन’ को क्रेडिट रेटिङ स्थिर

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठस्थित होटल फरेस्ट इन लिमिटेड को कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को १३ करोड ६० लाख रुपैयाँको तुलनामा ४० प्रतिशतले बढेर आर्थिक वर्ष २०८२/८३ मा १९ करोड १० लाख रुपैयाँ पुगेको छ। सञ्चालनको सुरुवाती चरणमा उच्च स्थिर खर्चका कारण कम्पनीको सञ्चालन नाफा (इबिट्डा) मार्जिन र ब्याज भुक्तानी क्षमता अनुपात नकारात्मक रहे तापनि अन्य वित्तीय सूचकहरूमा राम्रो सुधार देखिएको छ।

यस अवधिमा अल्पकालीन दायित्व भुक्तानी क्षमता दर्शाउने चालु अनुपात  १.४२ गुणाबाट बढेर १.५० गुणा पुगेको छ भने ऋणको निर्भरता मापन गर्ने ‘समग्र ऋण-पूँजी अनुपात’ १.५८ गुणाबाट घटेर १.२३ गुणामा झरेको छ। त्यस्तै, कुल दायित्व र खुद सम्पत्तिको अनुपात पनि १.७७ गुणाबाट घटेर १.४३ गुणा कायम भएको छ।

व्यावसायिक सञ्चालनमा आएको सुधारसँगै इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले होटल फरेस्ट इन लिमिटेडको निष्कासनकर्ता रेटिङ (इसुअर रेटिङ) लाई ‘आइआरएन बीबी माइनस’ मा पुन: पुष्टीकरण गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको देखाउँछ।

साथै, कम्पनीको कुल १ अर्ब ९७ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको बैंक सुविधाका लागि पनि रेटिङ नवीकरण गरिएको छ। जसअन्तर्गत दीर्घकालीन बैंक सुविधा १ अर्ब ९२ करोड ५ लाख २० हजार रुपैयाँका लागि ‘आइआरएन बीबी माइनस’ र ५ करोड रुपैयाँको अल्पकालीन बैंक सुविधाका लागि ‘आइआरएन ए४’ रेटिङ कायम गरिएको छ।

रेटिङ एजेन्सीका अनुसार अनुभवी सञ्चालक समिति, दक्ष व्यवस्थापन टोली र बूढानीलकण्ठस्थित रणनीतिक अवस्थितिलाई कम्पनीका सबल पक्ष मानिएको छ। अन्तर्राष्ट्रिय आतिथ्य सञ्जाल इन्टरकन्टीनेन्टल होटल्स ग्रुप (आईएचजी) सँगको सम्झौतामार्फत विश्वविख्यात ‘हलिडे इन रिसोर्ट’ ब्रान्डअन्तर्गत सञ्चालनमा रहेकाले होटलको बजारीकरण र ब्रान्डिङमा थप बल पुगेको छ।

होटलले जुलाई २०२४ देखि ६८ कोठाबाट आंशिक सञ्चालन सुरु गरी अप्रिल २०२५ देखि कुल १०४ वटै कोठाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो। हाल प्रारम्भिक चरणमै रहेकाले उच्च सञ्चालन लागत र ब्याज खर्चका कारण कम्पनी अझै खुद घाटामा छ। पहिलो वर्ष आव २०८१/८२ मा रु ३ करोड ९० लाख सञ्चालन घाटा र रु १७ करोड २० लाख खुद घाटा व्यहोरेको कम्पनीले आव २०८२/८३ मा सञ्चालन घाटा घटाएर रु १ करोड ८० लाखमा सीमित गरे पनि खुद घाटा भने बढेर रु २४ करोड ५० लाख पुगेको छ।

सन् २०२६ को प्रारम्भमा साधारण शेयर (आईपीओ) मार्फत सङ्कलन गरिएको ४० करोड रुपैयाँ पूँजी उपयोग गरी ऋणको भार केही घटाइएको छ। तर, काठमाडौँको होटल क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धा र असङ्गठित होडबाजीका कारण पर्यटकीय याममा पनि औसत कोठा दर घट्न सक्ने जोखिम कायम छ। आगामी दिनमा खर्च नियन्त्रण गर्दै कोठा भरिभराउ दर (अक्युपन्सी) बढाउनु र उच्च ब्याज खर्च व्यवस्थापन गर्नु नै कम्पनीको वित्तीय स्वास्थ्य सुधारका मुख्य सूचक हुनेछन्।

होटल फरेस्ट इन सन् २०१० नोभेम्बर २२ मा स्थापना भएको हो। करिब १.२४ हेक्टर क्षेत्रफलमा फैलिएको होटलले ‘होलिडे इन रिसोर्ट बूढानीलकण्ठ’ ब्रान्डमा पाँचतारे होटल सञ्चालन गरिरहेको छ। जुलाई २०२६ को मध्यसम्मको विवरणअनुसार बिनिता थापा कम्पनीकी प्रमुख शेयरधनी हुन् र उनको करिब १७ प्रतिशत स्वामित्व रहेको छ।

Leave Your Comment

Related News