काठमाडौं । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको अवस्थालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छिन्।
नयाँ व्यवस्था अनुसार आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर बजारमा उपलब्ध नभएको अवस्थामा उपभोक्ताले जुनसुकै ग्यास पसलमा गएर अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास खरिद गर्न पाउनेछन्। यो सुविधा काठमाडौं उपत्यकाभित्रका सबै पसल तथा उपभोक्ताका लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ।
यस व्यवस्थाबाट उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभए तापनि अन्य कम्पनीको सिलिन्डरमार्फत सहजै ग्यास प्राप्त गर्न सक्नेछन्। बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
मन्त्री यादवले उक्त व्यवस्था काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छिन्। साथै, उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत उनले दिएकी छिन्।



