काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भई हाल विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिकहरूलाई उनीहरूकै इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थापन गर्न सरकारले विस्तृत सर्वेक्षण सुरु गरेको छ।
विपत्तिको आपतकालीन अवस्थामा प्रभावितहरूका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएकामा अबको केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबासको प्रबन्ध मिलाउने लक्ष्यसहित सरकारले सर्वेक्षण थालेको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले मङ्गलबारदेखि प्रभावित जिल्लाहरूमा प्राविधिक टोली खटाएर सर्वेक्षण कार्य अघि बढाएको छ। टोलीले ‘कोबो टुलबक्स’ प्रविधिको प्रयोग गरी ‘आवश्यकता मूल्याङ्कन फारम’ मार्फत तथ्याङ्क सङ्कलन गरिरहेको छ।
यस डिजिटल सर्वेक्षणमार्फत बाढी प्रभावित व्यक्ति तथा परिवारको विवरण, घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक), परिवारका दिवङ्गत वा बेपत्ता सदस्यको सङ्ख्या, सरकारी सहयोगमा अस्थायी आश्रयस्थल वा भाडामा बस्ने उनीहरूको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे तत्काल यथार्थ विवरण प्राप्त हुनेछ।
हाललाई यस सर्वेक्षणले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका प्रत्येक घरपरिवारको वास्तविक आवश्यकता पहिचान गर्दै सरकारलाई पुनर्वास तथा राहतका योजना कार्यान्वयन गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
विभागका अनुसार एक साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारहरूको सर्वेक्षण सम्पन्न गर्ने गरी द्रुत गतिमा काम भइरहेको छ। यो चरण सकिएलगत्तै होल्डिङ सेन्टरभन्दा बाहिर तथा आफन्तकोमा आश्रय लिएर बसेका अन्य प्रभावित परिवारहरूको पनि सोही फारम प्रयोग गरी सर्वेक्षण गरिनेछ।



