CLI
Global College

उद्धार अझै जारी छ र हामीले अझै पनि सुखद् समाचारको आशा मारेका छैनौँ : साभापति लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले रसुवा बाढी पछि उद्धार अझै जारी रहेको र सुखद् समाचारको आशा नमारेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् । कल्पनाभन्दा पर, जम्माजम्मी एक निमेषमै सर्वस्व गुमाएकाहरूलाई सान्त्वना र समवेदना दिन संसारको कुनै पनि भाषासँग शब्द छैनन् । उद्धार अझै जारी छ र हामीले अझै पनि सुखद् समाचारको आशा मारेका छैनौँ , उनले भने ।

लामिछानेले सदनमा आज ठूलो हिम्मत जुटाएर र अत्यन्तै भारी मन लिएर उभिएको बताए । उनले बाढी प्रभावित क्षेत्रका नागरिकहरु लगायतले जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न वाध्य भएको बताए । ‘े भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौं, हुनु हुँदैन । ती त जलवायु अन्यायका पिडित हुन् । आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ । किनकि यो विपत्तिका कारक उनीहरू थिएनन् । पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन् । हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन् । अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन । तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धर्तीपुत्रहरूले र त्यो भूगोलसँग कुनै चिनजान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए, ’उनले भने ।

जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुनसक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन । हजारौं मानिसको यो अन्यायपूर्ण बलिदानलाई अब सामान्य श्रद्धाञ्जलीमा सीमित गरिरहन सकिन्न उनले भने हामीले संकल्प गर्ने पर्छ, यो शहादतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढक्ढक्याउनेछौँ । त्यही नै हाम्रो वास्तविक श्रद्धाञ्जली हुनेछ ।

‘यो विपत्तिमा नेपाली समाजले फेरि एकपटक प्रमाणित गरेको छ, हामी साना योद्धा होइनौँ। यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले अरूका परिवारलाई आश्रय दियो ।
त्यो सामान्य चेतना होइन । त्यही साहस, विवेक र मानवीयताको उज्यालोमा यो देशले फेरि आफ्नो भविष्य लेख्नेछ ,’ लामिछानेले भने ।

 

Leave Your Comment

Related News