काठमाडौं । भोटेकोशी नदीको बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका मानिसहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै सुरुङको मुखसम्म पहुँच पुर्याउन तीव्र प्रयास भइरहेको छ। हिजो रात्रिकालीन पाली सञ्चालन गरेर २४ सै घण्टा लेदो पन्छाउने योजना रहे पनि विद्युत् जडानमा भएको ढिलाइ, पहिरो, दलदल र विष्फोटनसम्बन्धी जटिलताका कारण सडक विस्तार सुरुङको मुखसम्म पुग्न सकेको थिएन। आज कार्यस्थलमा थप दुई वटा एक्साभेटर पुगेर सडक सुरुङको मुखको करिब ४० मिटर नजिक पुगेको छ भने नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले हातैले लेदो पन्छाउने, विष्फोटन गराउने र सडक विस्तारको कामलाई निरन्तरता दिइरहेका छन्।
उद्धारका क्रममा आइपरेका प्राविधिक अन्योल हल गर्न धुन्चेमा प्रमुख जिल्ला अधिकारी, चिलिमे जलविद्युत् आयोजनाका इन्जिनियर, नेपाली सेना, भारतीय सेनाका प्रतिनिधि, रास्वपा सांसदद्वय श्रीराम न्यौपाने र सागर ढकालबिच छलफल भएको छ। छलफलका क्रममा आयोजनाका इन्जिनियरहरूले सुरुङ बाहिर विष्फोटन गर्दा जोखिम बढ्न सक्ने र सुरुङभित्र प्रतिसेकेन्ड ९ लिटर रसाएको पानी आइरहेकाले करिब २४ हजार घनमिटर पानी दबाबमा थुप्रिएर बसेको हुन सक्ने र काम जोखिमपूर्ण हुने चिन्ता व्यक्त गरेका थिए। यसको जवाफमा १२ वर्षको विष्फोटन अनुभव भएका सांसद एवं सुरुङ इन्जिनियर न्यौपानेले आवश्यक सावधानीसहितको नियन्त्रित विष्फोटनले उद्धारमा बाधा पुर्याउनुको सट्टा गति बढाउने र २४ हजार घनमिटर पानी थुप्रिएर बस्ने सम्भावना प्राविधिक रूपमा नरहेको स्पष्ट पार्नुभयो।
सांसद न्यौपानेले रसाएको पानीको व्यवस्थापनसम्बन्धी तीन वटा मुख्य प्राविधिक सम्भावना प्रस्तुत गरेको थियो। पहिलो, सुरुङको सम्पूर्ण काट क्षेत्र लेदोले भरिएकाले रसाएको पानीको बाटो टालिएर पानी आफ्नै बाटोतर्फ फर्किएको हुन सक्ने। दोस्रो, बाढीले लेदो, ढुङ्गा, केबल, पाइप र भेन्टिलेसन डक्ट बगाउँदा सिर्जना भएको खाली ठाउँ र पानीको आफ्नै दबाबले बनाएको छिद्रमार्फत पानी निकास सुरुङतर्फ गएर बाहिर निस्किरहेको हुन सक्ने—जसलाई निकास सुरुङको बाहिरी मुखबाट निरन्तर सङ्लो पानी बगिरहेको दृश्यले पुष्टि गर्छ। तेस्रो, रसाएको पानी खाली ठाउँमा भरिए पनि आफैँ तह मिलाउने स्तरभन्दा विद्युत् गृहको माथिल्लो तला धेरै माथि रहेकाले पानी त्यहाँसम्म पुग्न असम्भव प्राय छ।
यसैबिच कुलमान घिसिङ र उनिसँग आएका विज्ञहरूले समेत सुरक्षा निकायसँग राखेको राय सुझावका आधारमा सबै निकायबिच सुरुङको माथिल्लो गोलाइ (क्राउन) बाट लेदो पन्छाउँदै अगाडि बढ्ने र विष्फोटन गतिविधिलाई निरन्तरता दिने सहमति भएको छ। ६० × २० × २५ मिटर आकारको विद्युत् गृहको डिजाइन अनुसार लेदोले हावालाई माथितिर धकेल्दा माथिल्लो भागमा बढीमा ८ मिटरसम्मको खाली ठाउँ रहने देखिन्छ। सो स्थानमा ९२ वटा ठूला ब्याट्री, भान्छा, चामल, दाल, चिनी, चियापत्ती लगायतका खाद्यान्न र १,००० लिटर क्षमताको खानेपानी ट्याङ्की रहेकाले अक्सिजनको अवस्था कायम भएमा ६ जना मानिस ३ देखि ४ हप्तासम्म जीवितै रहन सक्ने प्राविधिक विश्लेषणका साथ “आशा नमार्न र प्राविधिक विवेक नछोडी उद्धारको गति नरोक्न” आग्रह गरिएको छ।



