काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले २४ भदौ २०८२ मा भएको आन्दोलनलाई ‘विध्वंस’को संज्ञा दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त निजी क्षेत्रका संरचना पुनर्निर्माण भएर बलियो रूपमा सञ्चालनमा आइसके पनि सरकारी संरचनाको पुनर्निर्माण भने सुस्त रहेको बताए ।
उनले आफू महाराजगञ्ज हुँदै नक्सालको भाटभटेनी भएर संसद् आउने गरेको उल्लेख गर्दै आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालस्थित भाटभटेनी पुनर्निर्माण भइसकेको बताए ।
‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ उनले भने ।
तर सिंहदरबार प्रवेश गर्दा आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार र गृह मन्त्रालय अझै बेवारिसे अवस्थामा देखिने गरेको उनले बताए । नयाँ संसद् भवनमा बजेट अधिवेशन हुने भनिए पनि आफूहरू अझै अस्थायी भवनबाटै आफ्ना कुरा राख्न बाध्य भएको उनको भनाइ थियो ।
सरकारी संरचनाको पुनर्निर्माणको गति सुस्त भएकोप्रति प्रश्न उठाउँदै आचार्यले राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माण नै सुस्त भइरहँदा रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्न गरे ।
गत वर्ष २४ भदौमा भएको तोडफोड तथा आगजनीका क्रममा नक्सालस्थित भाटभटेनीसहित विभिन्न निजी तथा सरकारी संरचनामा क्षति पुगेको थियो । निजी क्षेत्रका कतिपय संरचना पुनर्निर्माण भइसके पनि सार्वजनिक सम्पत्तिको पुनर्निर्माण अझै पूरा नभएको विषयमा आचार्यले सरकारमाथि प्रश्न उठाएका हुन् ।



