RE
Global College

चिलिमेको सुरुङभित्र सुनियो इको, उद्धारस्थलमै पुगेर कुलमान घिसिङले के भने?

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धारका लागि कुलमान घिसिङ आफैं कार्यक्षेत्रमा खटिएर समन्वय गरिरहेका छन्। चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक तथा घिसिङले विद्युतगृह सञ्चालनको आफ्नो लामो प्राविधिक अनुभवका आधारमा उद्धार टोलीलाई प्रत्यक्ष निर्देशन र सहजीकरण गरिरहेका हुन्।

घिसिङका अनुसार मुख्य पहुँच सुरुङमा जम्मा भएको ठूलो मात्राको लेदो, बालुवा र ढुंगा हटाउँदै उद्धार टोली निरन्तर अघि बढिरहेको छ। सुरुङको साँघुरिएको भागबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा इको (प्रतिध्वनि) सुनिएको र भित्रबाट चिसो हावा समेत आइरहेकाले फसेका कर्मचारीहरू सकुशल रहेको आशा बलियो बनेको उनले जानकारी दिएका छन्।

“अहिले विद्युतगृह पुग्न अब करिब १०० मिटर मात्र बाँकी छ। प्रत्येक मिटरको प्रगतिले हामीमा नयाँ आशा जगाएको छ,” घिसिङले भने। उद्धारलाई अझ तीव्र बनाउन स्याफ्रुवेसीतर्फबाट सुरुङसम्म स्केभेटर र लोडर पुर्याउने बाटो बनाउने काम अन्तिम चरणमा पुगेको र आजै भारी उपकरण पुगेपछि कामले थप गति लिने उनले बताए।

कठिन र संवेदनशील परिस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ टोली, स्थानीय प्रशासन र चिलिमेका कर्मचारीहरू उच्च मनोबलका साथ अहोरात्र खटिएको भन्दै घिसिङले सबैप्रति आभार व्यक्त गरेका छन्। उनले प्राविधिक टोलीको अथक प्रयासबाट सुरुङभित्र रहेका सबै व्यक्तिहरूलाई छिट्टै सकुशल उद्धार गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

NECO

Leave Your Comment

Related News