काठमाडौं । जीवन बीमा कम्पनीहरूको १ वर्षमा नाफा ३२ प्रतिशतले बढेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ कमाएका छन्। यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.४४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूको कमाई १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ रहेको छ।
१४ मध्ये समीक्षा अवधिमा सबै बीमकको व्यापारमा सुधार आएको छ, जसमा नेपाल लाइफले ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १२.९३ प्रतिशतले बढेको छ।त्यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीले अघिल्लो वर्षको ४३ करोड ३९ लाख रुपैयाँको तुलनामा ८२०.१६ प्रतिशतको आक्रामक वृद्धि हासिल गर्दै ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ व्यापारसहित दोस्रो स्थान रहेको छ, जुन समग्र जीवन बीमकहरूमध्येकै उच्च वृद्धि हो। तेस्रो स्थानमा रहेको नेसनल लाइफले २०.६५ प्रतिशतले व्यापार बढाएर २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ सङ्कलन गरेको छ।
अन्य प्रमुख कम्पनीहरूमा हिमालयन लाइफले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ, एलआइसी नेपालले २ अर्ब १४ करोड १४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ र एसियन लाइफले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेका छन्। त्यस्तै सिटिजन लाइफले ९६ करोड १ लाख रुपैयाँ, आइएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ, मेटलाइफले ६० करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँको कारोबार गरेका छन्।




