काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली नागरिक सुनिल लुंगेली मगरको उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्।
मन्त्री पुनले शनिबार सामाजिक सञ्जालमार्फत मगरले दुबईबाट आफूलाई फोन गरेर समस्याबारे जानकारी गराएको भन्दै उनको उद्धारका लागि सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्।
मगर कार्यरत रोजगारदाता कम्पनीले उनको राहदानी नियन्त्रणमा लिएपछि उनी अलपत्र परेको मन्त्री पुनले बताएका छन्। मगरसँग राहदानीबाहेक अन्य आवश्यक कागजात सुरक्षित रहेको जनाउँदै पुनले दुबई तथा शारजहाँ क्षेत्रमा रहेका नेपाली समुदाय र संघसंस्थालाई उनको सम्पर्कमा पुगेर तत्काल उद्धारमा सहयोग गर्न आग्रह गरेका छन्।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सार्वजनिक रूपमा आग्रह गरेपछि उनको भूमिकामाथि भने प्रश्न उठाइएको छ। कतिपयले मन्त्रीले सम्बन्धित सरकारी निकायमार्फत कूटनीतिक पहल गर्नुपर्नेमा सामाजिक सञ्जालबाट नागरिकसँग सहयोग मागेको भन्दै आलोचना गरेका छन्।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारसँग उद्धारका लागि गुहार मागेको अवस्थामा सरकारले नै नागरिकसँग उद्धारका लागि सहयोग माग्नुपर्ने अवस्था आउनु सरकारको भूमिकामाथि प्रश्न भएको टिप्पणी गरेका छन्।
त्यस्तै, अर्का प्रयोगकर्ताले परराष्ट्र वा श्रम मन्त्रालयमार्फत कूटनीतिक पहल गर्नुपर्ने भन्दै मन्त्रीको सार्वजनिक आह्वानप्रति असन्तुष्टि जनाएका छन्।
युएईमा रोजगारीका क्रममा समस्यामा परेका नेपालीको उद्धार तथा श्रमिक अधिकार संरक्षणका लागि सम्बन्धित नेपाली नियोग र सरकारी निकायमार्फत आवश्यक पहल हुनुपर्ने आवाजसमेत उठेको छ।



