काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको थप सार्वजनिक निष्कासन (आईपीओ) मा मागभन्दा ३० दशमलव ५५ गुणा बढी आवेदन परेको छ।
कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिमा २३ लाख ६१ हजार १२४ जना आवेदकले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता शेयरका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को तथ्यांकले देखाएको छ।
कम्पनीले थप सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो। सो संख्याको तुलनामा परेको आवेदन करिब ३० दशमलव ५५ गुणा बढी हो।
कम्पनीले गत वैशाख २९ गते पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न गरेको थियो। त्यसको करिब चार महिनापछि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिएको हो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत वैशाख २ गतेपछि आईपीओ निष्कासनका लागि कुनै कम्पनीलाई स्वीकृति दिएको छैन। बेनी हाइड्रोपावरले भने गत माघ २९ गते नै प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको थियो।
कम्पनीले निष्कासन गरेको कुल २० लाख ८० हजार कित्तामध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको थियो। बाँकी १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २० हजार ८०० कित्ता कर्मचारी र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।
यी सबै बाँडफाँटपछि बाँकी ८ लाख ६३ हजार २०० कित्ता शेयर थप सर्वसाधारणका लागि निष्कासन गरिएको हो।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत परियोजना सञ्चालन गर्दैछ। यस परियोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ, र यसको विद्युत अनुमतिपत्र २४ वर्ष बाँकी रहेको छ। यस आयोजनाले साधारण लगानी फिर्ता गर्न ५.७८ वर्ष र डिस्काउण्टमा ८.१५ वर्षको समयावधि लाग्ने अनुमान गरिएको छ।



