काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ । दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका-१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी-६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार थप दुई जना घाइतेलाई लिन हेलिकप्टर आउँदैछ ।
उनका अनुसार जिपमा सवार सबैको पहिचान भने अझै खुलेको छैन । सानीभेरी गाउँपालिका-६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु१च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना भएको थियो । जिप सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



