काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले नेपालबाट थाइल्यान्ड र सिङ्गापुर भई अवैध बाटोबाट मलेसिया आउने क्रम बढ्दो रहेको भन्दै सचेत गराएको छ ।
आइतबार रादूतावासले आफ्नो साप्ताहिक फेसबुक लाइभमार्फत यस्तो सचेत गराएको हो । राजदूतावासकी द्वितीय सचिव कुसुम पन्तले वैदेशिक रोजगारीको लोभमा पारेर एजेन्ट वा चिनेजानेका व्यक्तिहरूले थाइल्यान्डको भिजिट भिसामा ल्याई डुङ्गा चढाएर मलेसिया भित्र्याउने गरेको पाइएको बताइन्।
नेपालदेखि यस्तो अवैध बाटोबाट विदेश नआउन उनले सबै नेपालीलाई अनुरोध गरेकी छिन्। उनले अवैधबाट हुँदै आउने व्यक्तिहरूसँग मलेसियाको वैधानिक भिसा र प्रवेश छाप नहुने हुँदा अध्यागमन कानुन अनुसार कारबाहीमा पर्न सक्ने र काम पाउन पनि गाह्रो हुने बताइन्।
दूतावासले सेक्युरिटी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूले ओभरटाइमको सही गणना नपाएको, हप्तामा एक दिन पनि बिदा नदिई दैनिक १२ घण्टा काम गराइएको र १७०० न्यूनतम बेसिक तलब नपाएको जस्ता समस्याहरूबारे दूतावासले निगरानी गरिरहेको जनाएको छ।
रोजगारदाता कम्पनीहरूले जबर्जस्ती मन्जुरीनामा वा अन्य कागजातमा हस्ताक्षर गराएर पासपोर्ट राख्न नपाउने भन्दै दूतावासले त्यस्ता कागजातमा हस्ताक्षर नगर्न र समस्या परेमा प्रमाणसहित दूतावासको हटलाइन वा ह्वाट्सएपमा सम्पर्क गर्न आग्रह गरेको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा नियम विपरीत भिडियो पोस्ट गरेका कारण मलेसियामा केही नेपालीहरू पक्राउ परेको भन्दै दूतावासले स्थानीय कानुन र समाजको मर्यादालाई ध्यानमा राखेर मात्र अभिव्यक्ति दिन आग्रह गरेको छ ।
विशेष गरी ड्युटी समयमा, कम्पनीको ड्रेसमै रहेर सामाजिक सञ्जालमा अराजक वा कानुन विपरीतका अभिव्यक्ति नदिन दूतावासले सचेत गराएको छ । नयाँ प्रणाली सुचारु भएपछि राहदानी आवेदन दिएका नेपालीहरूका लागि अझै वितरण सुरु नभएको दूतावासले जनाएको छ ।
द्वितीय सचिव पन्तका अनुसार ५० दिनभन्दा बढी समय भइसके पनि नयाँ राहदानीहरू दूतावासमा आइपुग्न बाँकी रहेको जानकारी दिइन् । प्रणाली स्थिर भइसकेपछि नियमित रूपमा ३० देखि ४० दिनभित्र राहदानी उपलब्ध गराइने जानकारी उनले गरिन्।



