CLI
Global College

आज तीज, पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, चारै ढोका खुला

काठमाडौं । आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन् । तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी, दोस्रो लाइन जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघर अघिको १ नं ढोकाअघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकाशे पुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यावस्था गरिएको छ ।

त्यस्तै, तेस्रो तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्व ढोकामा राखिएको र्‍याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गरी उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको छ ।

आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएकाे काेषले जनाएकाे छ । स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन् । शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आग्रह गरेको छ ।

पशुपतिमा दर्शन गर्न आउने भक्तजनको गाडी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ । सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।

Leave Your Comment

Related News