काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ। विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्याउने माध्यम बनेको छ। हाटबजार स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ।
हरेक शुक्रबार लाग्ने यस हाटबजारमा बिहानैदेखि चहलपहल सुरु हुन्छ। गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकार र हस्तकलाका सामग्री बिक्रीका लागि ल्याइन्छन्। स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकार पनि यहाँको विशेष आकर्षण बन्ने गरेका छन्।
आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीकी किसान सुकमाया चेपाङ नियमित रूपमा हाटबजारमा सामान बेच्न आउँछिन्। उनी गाउँमा उत्पादन भएको सागसब्जी, कोदो, मकै, घिउजस्ता सामग्री ल्याएर बिक्री गर्छिन्। पहिले सामान बेच्न टाढा जानुपर्दा खर्च बढी हुने गरेकोमा अहिले यतै बेच्न पाउँदा आम्दानी बढेको उनले बताइन्। हाटबजार व्यापारका साथै सामाजिक भेटघाटको थलोका रूपमा पनि विकास भएको छ।
साढे तीन वर्षको अवधिमै हाटबजार स्थानीय अर्थतन्त्र चलायमान बनाउने आधार बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। ‘स्थानीय उत्पादनले बजार नपाउँदा किसान निरास हुने अवस्था थियो,’ उनले भने, ‘अहिले भने गाउँमै बिक्री हुने वातावरण बनेको छ।’ हाटबजारले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढाएको र घरमै उत्पादन गरेर आम्दानी गर्ने संस्कार बलियो बनाएको उनको भनाइ छ।
अध्यक्ष चुमानका अनुसार हाटबजारलाई स्थानीय उत्पादन प्रवर्द्धन, स्वरोजगार सिर्जना र सामुदायिक जमघटको थलोका रूपमा लिनुपर्छ। हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानजस्ता दैनिक उपभोग्य वस्तु बिक्री गर्ने व्यवस्था मिलाइएको छ।



