काठमाडौं । दक्षिण कोरियाका नयाँ अन्तरिम प्रशिक्षक रोबर्ट मोरेनोले सोमबार विश्वकपमा निराशाजनक प्रदर्शन र विभिन्न विवादका कारण आहत बनेका देशका समर्थकलाई खुसी बनाउने लक्ष्य रहेको बताएका छन्।
स्पेनका पूर्व प्रशिक्षक मोरेनोले यस वर्षको सुरुआतमा खेलको तयारीका लागि ‘च्याटजीपीटी’ प्रयोग गरेको आरोपको खण्डन गर्नुपरेको थियो । उनले अब आगामी महिनामा हुने मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरियाली टोलीको जिम्मेवारी सम्हाल्नेछन्।
कोरिया फुटबल सङ्घ (केएफए) का अनुसार, उहाँको प्रदर्शनको मूल्याङ्कनका आधारमा मोरेनो जनवरी–फेब्रुअरीमा साउदी अरबमा हुने एसियन कपसम्म पनि टोलीको प्रशिक्षक रहन सक्नेछन्।
मोरेनोले घरेलु मैदानमा हुने चार मैत्रीपूर्ण खेलका लागि कप्तान सन ह्युङ–मिनसहितको टोली घोषणा गरेका छन्। उनले दक्षिण कोरियाली समर्थकको अनुहारमा पुनः खुसी फर्काउने इच्छा समते व्यक्त गरेका छन्।
“हामी इमानदारीपूर्वक आफ्नो काम गर्नेछौँ र कोरियाली फुटबलका सबै समर्थकलाई खुसी बनाउने लक्ष्यका साथ अघि बढ्नेछौँ”, ४८ वर्षीय मोरेनोले भने। उनी दक्षिण कोरियाको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने पहिलो स्पेनी नागरिक हुन्।
“हामी राम्रो फुटबल खेल्ने र खेलाडीलाई सहयोग गर्ने प्रयास गर्नेछौँ ।” मोरेनोले सेप्टेम्बरमा इक्वेडर र उरुग्वे तथा अक्टोबरमा भेनेजुएला र उज्बेकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाको नेतृत्व गर्नेछन्।
जुनमा उत्तर अमेरिकामा भएको विश्वकपको समूह चरणबाटै अप्रत्याशित रूपमा बाहिरिएपछि हङ म्युङ–बोले राजीनामा दिएसँगै दक्षिण कोरिया प्रशिक्षकविहीन बनेको थियो।
हङको बहिर्गमनले निराशाजनक प्रदर्शनप्रति रहेको जनआक्रोश कम गर्न सकेन । बरु उनको नियुक्ति प्रक्रियालाई लिएर पहिलेदेखि उठ्दै आएका प्रश्नहरू थप गम्भीर बने । हङको सन् २०२४ को नियुक्तिबारे भइरहेको अनुसन्धानका क्रममा गत महिना प्रहरीले केएफएको मुख्यालयमा छापा मारेको थियो।
यसैबीच, विदेशी रेफ्रीहरूका लागि यौन मनोरञ्जनको व्यवस्था गरेको आरोपमा पनि केएफएले माफी मागिसकेको छ। मोरेनोले आफ्नो पहिलो टोलीमा स्ट्राइकर सन ह्युङ–मिनलाई समावेश गरेका छन्। सन हाल लस एन्जलस एफसीबाट मेजर लिग सकर खेलिरहेका छन् । टोलीमा एट्लेटिको मेड्रिडका ली काङ–इन र बायर्न म्युनिखका किम मिन–जेलाई पनि समावेश गरिएको छ।
विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको निर्णायक खेलको पहिलो हाफमा सनलाई बेन्चमा राख्ने हङको निर्णयले धेरै समर्थकलाई आश्चर्यचकित बनाउनुका साथै आक्रोशितसमेत बनाएको थियो। “हामी सबैलाई सनको बहुमुखी प्रतिभाबारे थाहा छ”, मोरेनोले भने, “मेरो विचारमा उनी तीनवटा पोजिसनमा खेल्न सक्छन् ।”
मोरेनोले यसअघि रुसी क्लब सोचीको प्रशिक्षक रहँदा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको भन्ने आरोपबारे पनि स्पष्टीकरण दिएका छन्। नतिजा निराशाजनक भएपछि उहाँले सन् २०२५ को सेप्टेम्बरमा उक्त शीर्ष डिभिजन क्लब छोडेका थिए।
समाचारहरूमा मोरेनोले आफ्नो भूमिकामा ‘च्याटजीपीटी’ मा अत्यधिक भर परेको र नयाँ खेलाडी अनुबन्ध गर्ने निर्णयमा समेत यसको प्रयोग गरेको दाबी गरिएको थियो। तर मोरेनोले ती दाबीलाई ‘पूर्ण रूपमा गलत र भाइरल भएको समाचार’ भन्दै खण्डन गरे।
“स्वाभाविक रूपमा म प्रविधि प्रयोग गर्छु”, उनले भने “यस विषयमा १० मिनेट मात्रै समय दिने जो कोहीले पनि बुझ्न सक्छ कि सबै कुरालाई सन्दर्भबाट बाहिर लगेर, हानि पुर्याउने उद्देश्यले तोडमरोड गरी प्रस्तुत गरिएको हो ।”



