काठमाडौं । रसुवा विनाशकारी बाढीका कारण १५ स्थानीय तहका करिब ७ हजार ५७० निजी भवन प्रभावित भएका छन्। ती भवनसँग सम्बन्धित ८ हजार ३१७ घरधुरी र ३२ हजार ९६३ जना जनसंख्या प्रभावित भएको अनुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको रसुवा-भोटेकोशी बाढी २०८३ द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुरुप प्रभावित भवनको संख्या सबैभन्दा बढी नुवाकोटमा ५२.५ प्रतिशत रहेको छ। त्यसपछि रसुवामा २३.५ प्रतिशत र धादिङमा १९.२ प्रतिशत भवन प्रभावित भएको अनुमान गरिएको छ (तालिका ६)।
स्थानीय तहगत रूपमा विदुर नगरपालिकामा सबैभन्दा धेरै ३ हजार २६ भवन प्रभावित भएको अनुमान छ। त्यसपछि गोसाइँकुण्ड गाउँपालिकामा १ हजार ४३ भवन र बेनीघाट रोराङ गाउँपालिकामा १ हजार ३७ भवन प्रभावित भएका छन्। यी तीन स्थानीय तहमा मात्रै मूल्यांकन गरिएका कुल प्रभावित भवनमध्ये ६७.५ प्रतिशत रहेका छन्।
उपलब्ध वडागत विवरणअनुसार १५ स्थानीय तहका ५२ वडामा प्रभावित भवनको अनुमानित विवरण संकलन गरिएको छ। सबैभन्दा बढी भवन प्रभावित भएको वडा किस्पाङ गाउँपालिका–५ मा ६९६, गोसाइँकुण्ड गाउँपालिका–२ मा ५७१ र बेनीघाट रोराङ गाउँपालिका–३ मा ५५३ रहेका छन्। यी तीन वडामा मात्रै कुल १ हजार ८२० भवन, अर्थात् कुल प्रभावित भवनको २४ प्रतिशत रहेको छ।
विदुर नगरपालिकामा प्रभावित भवनको संख्या ११ वटा वडामा फैलिएको छ। यसले नगरपालिकाभित्र पुनःस्थापनाका आवश्यकता विभिन्न स्थानमा फैलिएको देखाउँछ।
प्रभावित भवनको वितरणले क्षतिको भौगोलिक एकाग्रता पहिचान गर्न सहयोग पुर्याउने तथा थप सत्यापन, पुनःस्थापना र पुनर्निर्माण योजना तयार गर्दा भौगोलिक प्राथमिकता निर्धारण गर्न आधार प्रदान गर्ने देखिन्छ।




