काठमाडौं । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनःनिर्माणको काम तीव्र पारेको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएको छ। यी काम सम्पन्न भएपछि पक्की सडक तथा पुल निर्माण अघि बढाउने सरकारको तयारी छ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक तथा पुल निर्माणलाई तीव्रता दिन विभिन्न विषयगत आठ वटा कार्यदल गठन गरिएको जानकारी दिए।
उनले सडक तथा पुल निर्माणमा दोहोरोपना हुन नदिन स्थानीय जनप्रतिनिधिलाई प्रत्यक्ष रूपमा सहयोग गर्न आग्रह गरे। प्रभावित क्षेत्रमा रहेका क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन, योजना निर्माण, निर्माण कार्यमा समन्वय तथा अनुगमनका लागि मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहन उनले जनप्रतिनिधिलाई आग्रह गरे।
मन्त्री लम्सालले काठमाडौंमै रहेका स्थानीय जनप्रतिनिधिले मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रत्यक्ष छलफल गरी आफ्नो क्षेत्रको क्षतिग्रस्त पूर्वाधारबारे जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको बताए।
सरकारले प्रभावित क्षेत्रमा आगामी मंसिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गर्ने गरी काम गरिरहेको उनले जानकारी दिए। स्वास्थ्य, शिक्षा लगायतका आवश्यक पूर्वाधार निर्माण तथा पुनःस्थापनाको काम पनि अघि बढिरहेको उनको भनाइ छ।
छलफलमा सहभागी नुवाकोटका प्रतिनिधिसभा सदस्य तथा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले गैरसरकारी संस्थाहरूले प्रभावित क्षेत्रमा पुगेर घर निर्माण, ज्येष्ठ नागरिक तथा बालबालिकाको संरक्षणलगायतका आश्वासन दिइरहेको भन्दै त्यस्ता संस्थाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताए।
उनले प्रभावित क्षेत्रमा कुनै पनि पीडित नछुट्ने गरी तथ्यांक संकलन गरेर समयमै सरकारलाई उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे।



