CLI
Global College

पुँजी बजार सुधारका लागि ल्याएको कार्ययोजनाको लगानीकर्ताले स्वागत गर्दै भने -दीर्घकालीन विकासका लागि महत्वपूर्ण आधार तयार

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ लाई लिएर शेयर लगानीकर्ताहरुले स्वागत गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लले शेयर बजारलाई थप आधुनिक, प्रविधिमैत्री, पारदर्शी र लगानीमैत्री बनाउने विभिन्न कार्यक्रम समेटिदै उक्त कार्ययोजना ल्याएका हुन् । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनाले पूँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासका लागि महत्वपूर्ण आधार तयार गर्ने बताएका छन्।

ढकालले कार्ययोजनामा आईपीओमा प्राइस डिस्कभरी प्रणाली लागू गर्ने, मार्जिन लेन्डिङ तथा सर्ट सेलिङ कार्यान्वयन गर्ने, कर्पोरेट बन्ड बजारको विकास गर्ने, गैरआवासीय नेपाली ,एनआरएन लाई दोस्रो बजारमा लगानीको अवसर दिने तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने व्यवस्था समेटिएको बताए।

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज ,नेप्से, सीडीएस एन्ड क्लियरिङ ,सीडीएससी तथा धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने योजनाले बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३।७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था पनि सकारात्मक रहेको ढकालले बताए।

उनका अनुसार यस्तो व्यवस्थाले दीर्घकालीन लगानी संस्कृतिको विकाससँगै बजारमा स्थायित्व र लगानीकर्ताको विश्वास बढाउन सहयोग गर्नेछ। सरकारले घोषणा गरेका सुधारहरू समयबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन भए पूँजी बजारप्रतिको लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता बढ्ने तथा मुलुकको आर्थिक विकासमा पूँजी बजारको भूमिका अझ प्रभावकारी बन्ने ढकालले बताए।

पूँजी बजार सुधारप्रति सरकारले देखाएको प्रतिबद्धताका लागि अर्थमन्त्री, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै ढकालले कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन अफ नेपाल सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।
त्यस्तै शेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले कार्ययोजनालाई कोशेढुङगा भनेका छन् । उनले मन्त्रालयबाट जारी पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ दीर्घकानलीन पुँजी बजार विकास र विस्ताकरो कोशेढुङगा हुने बताए । यसैगरी लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुलेलले सरकारले अघि सारेको २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले नेपाली सेयर बजारमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण गरे । उनले कार्ययोजनाले वर्षौँदेखि अड्किएका नीतिगत तथा कानुनी गाँठो फुकाउँदै बजारलाई आधुनिक र लगानीमैत्री बनाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष फुलेलले कार्ययोजनामा समावेश भएका विषयले बजारमा तत्कालै ठूलो प्रभाव पार्ने र दीर्घकालीन पुँजी बढाउन सबैभन्दा महत्वपूर्ण हुने बताए । उनले भने, ‘३६५ दिनभन्दा बढी होल्ड गर्दा ३।७५ प्रतिशत र सोभन्दा कममा ५ प्रतिशत मात्र लाभकर लाग्ने तथा नाफा–घाटाको वास्तविक हिसाब गरी खुद नाफामा मात्र कर लाग्ने व्यवस्थाले दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन मिल्ने र बजारमा स्थायी पुँजी बढ्नेछ । संस्थागत लगानीकर्तालाई प्राथमिक तथा दोस्रो बजारमा खुला गर्दा ठूलो पुँजी भित्रिने र बजारको उतारचढाव नियन्त्रण भई स्थायित्व कायम हुनेछ ।’

उनले सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र बीमा कम्पनीहरूको बैंक निक्षेपमा केन्द्रित लगानी सेयर बजारमा आकर्षित हुँदा बजारमा अर्बौँको संस्थागत पुँजी थपिने देखिएको बताए ।

सरकारले उक्त कार्ययोजना प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र सेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सहित अघि सारेको हो। सरकारले दीर्घकालीन लगानीकर्तालाई करमा राहत सरकारले दीर्घकालीन शेयर लगानीलाई प्रोत्साहन गर्न पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा समेत सुधार गर्ने प्रस्ताव अघि सारेको छ। कार्ययोजनाअनुसार ३६५ दिनभन्दा बढी अवधि शेयर स्वामित्वमा राखेर बिक्री गर्दा प्राप्त लाभमा प्राकृतिक व्यक्तिका लागि ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिका लागि ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

Leave Your Comment

Related News