CLI
Global College

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

काठमाडौं । इरानविरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताएका छन् । कङ्ग्रेसलाई बुझाइएको प्रतिवेदनअनुसार ‘अपरेसन एपिक फ्युरी’ को फेब्रुअरी २८ देखि जुन ३० सम्मको अनुमानित लागत ३३ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ भने २२ अर्ब ३० करोड डलर खर्च भइसकेको छ ।

प्रतिवेदनले अभियानमा ठूलो मात्रामा हतियार प्रयोग हुँदा रणनीतिक भण्डार घटेको उल्लेख गरेको छ । युद्धका क्रममा चार एफ–१५ विमान र ३० एमक्यू–९ रिपर ड्रोन नष्ट भएका तथा एउटा एफ–३५ र सात केसी–१३५ ट्याङ्कर विमान क्षतिग्रस्त भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हतियार भण्डारमा कमी आएको चिन्ता अस्वीकार गर्दै अमेरिकासँग ‘लगभग असीमित’ गोला–बारुद रहेको बताएका छन् । सोमबार उनले अमेरिकाले इतिहासकै सबैभन्दा उत्कृष्ट र ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको दाबी गरे ।

यसअघि सिएनएनले लामो दूरीका क्षेप्यास्त्र र हवाई प्रतिरक्षा प्रणालीका अवरोधक क्षेप्यास्त्रको अभावले अमेरिकी रणनीतिमा असर परेको जनाएको थियो । अमेरिकी सेनाले थाड प्रणालीका करिब ८० प्रतिशत अवरोधक क्षेप्यास्त्र प्रयोग गरिसकेको बताइएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार युद्धको पहिलो २४ घण्टामै अमेरिकी सेनाले एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको थियो । प्रतिवेदनले इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इराक, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य आधारका सयौँ संरचनामा क्षति पुगेको जनाएको छ । ती संरचनाको पुनर्निर्माण लागत भने हालको खर्च अनुमानमा समावेश गरिएको छैन ।

Leave Your Comment

Related News