CLI
Global College

घरजग्गा कारोबारमा उल्लेखीय वृद्धि, एक वर्षमा सात खर्ब २० अर्ब बढीको कारोबार

काठमाडौं । पछिल्लो समय नेपालमा घरजग्गाको कारोबार उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको तथ्यांकअनुसार गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षमा भने यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो। गत आवको चौथो त्रमासमा मात्रै घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १४.६५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले बढेको छ भने राजीनामा कारोबारको संख्या २२.८८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा लिखत पारित कारोबार १५.४५ प्रतिशत र राजीनामा कारोबार ८.१५ प्रतिशतले बढेको थियो।

कारोबारको संख्या बढेसँगै घरजग्गा कारोबार भएको कुल क्षेत्रफलमा पनि उल्लेख्य वृद्धि देखिएको छ। चौथो त्रेमासमा कारोबार भएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

घरजग्गा कारोबारको मूल्यमा भने वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको थियो।

त्यसैगरी, गत आर्थिक वर्षको चौथो त्रमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ बराबरको थियो।

घरजग्गा कारोबार बढेसँगै यसबाट सरकारलाई प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ।

त्यस्तै, घरजग्गा कारोबारबाट संकलन भएको पुँजीगत लाभकर ६३.२२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा राजस्व २३.४५ प्रतिशत र पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो।

घरजग्गा क्षेत्रमा बैंक कर्जाको प्रवाहसमेत बढेको छ। समीक्षा अवधिमा आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रयमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो।

प्रदेशगत रूपमा हेर्दा चौथो त्रयमासमा घरजग्गाको राजीनामा कारोबार वृद्धिमा बागमती प्रदेश अगाडि देखिएको छ। बागमतीमा यस्तो कारोबार संख्या ६९.३८ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ३.४४ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा राजीनामा कारोबार संख्या बढेको छ।

घरजग्गा कारोबार भएको कुल क्षेत्रफलमा पनि बागमती प्रदेशको वृद्धि सबैभन्दा उच्च छ। समीक्षा अवधिमा बागमतीमा यस्तो क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ६.१९ प्रतिशतले घटेको छ।

कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। बागमती प्रदेशमा कुल कारोबार मूल्य १७५.३३ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा वृद्धि ३१.९८ प्रतिशत रहेको छ।

सातवटै प्रदेशमा २.५ देखि १० आनासम्म क्षेत्रफलका प्लटहरूको कारोबार सबैभन्दा बढी भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मधेश प्रदेशमा भने २० आनाभन्दा बढी क्षेत्रफलका प्लटको कारोबार सबैभन्दा धेरै थियो। अन्य प्रदेशमा २.५ देखि १० आनासम्मका प्लटको कारोबार बढी थियो।

महानगरपालिकातर्फ पनि घरजग्गा कारोबारमा उल्लेख्य विस्तार भएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा काठमाडौं महानगरपालिकामा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५५.७४ प्रतिशतले बढेको छ।

ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरा महानगरपालिकामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार संख्या बढेको छ।

महानगरपालिकाहरूमा कारोबार भएको कुल क्षेत्रफल पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। काठमाडौं महानगरपालिकामा यस्तो क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ भने वीरगञ्जमा वृद्धि १३.३१ प्रतिशत रहेको छ।

घरजग्गा कारोबारको कुल मूल्यसमेत सबै महानगरपालिकामा बढेको छ। काठमाडौं महानगरपालिकामा कारोबार मूल्यको वृद्धि सबैभन्दा उच्च २१७.४० प्रतिशत रहेको छ।

उपमहानगरपालिकातर्फ कलैया बाहेक सबै उपमहानगरपालिकामा घरजग्गा कारोबार संख्या बढेको छ। धनगढी उपमहानगरपालिकामा कारोबार संख्या सबैभन्दा धेरै ७३.१६ प्रतिशतले बढेको छ भने कलैयामा यस्तो कारोबार संख्या स्थिर रहेको छ। कारोबार भएको कुल क्षेत्रफल सबै उपमहानगरपालिकामा बढेको छ। हेटौंडा उपमहानगरपालिकामा यस्तो क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ।

त्यस्तै, ११ वटै उपमहानगरपालिकामा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। हेटौंडा उपमहानगरपालिकामा कारोबार मूल्यको वृद्धि सबैभन्दा उच्च १८६.८० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

 

Leave Your Comment

Related News