काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठन सुचारु गर्न र अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी लिने नीति तर्जुमा गर्न माग गरेको छ।
प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद रमेशकुमार मल्लले रसुवाको बाढीका कारण सिर्जित गम्भीर परिस्थिति र त्यसबाट पीडित परिवारको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै सो माग गरेका हुन्।
उनले बाढी प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठन सुचारु गर्न र अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी लिन सरकारले आवश्यक नीति तर्जुमा गनुपर्ने बताए ।
त्यस्तै सांसद मल्लले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै मृतकका शव नेपाल ल्याउने वातावरण मिलाउन सरकारसँग आग्रह गरे। रसुवा र अन्य प्रभावित क्षेत्रमा बाढीले भत्काएका सडक तथा झोलुङ्गे पुलहरूको पुनर्निर्माण र तत्काल सञ्चालनका लागि सरकारले प्राथमिकता दिनुपर्ने समेत उनले बताए ।
मल्लले चाडपर्व नजिकिँदै गर्दा देशभरका बालबालिका तथा सर्वसाधारणको सुरक्षा, सडकको जोखिम पहिचान र तत्काल मर्मत तथा स्तरवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए। बाढी तथा विपद्बाट घाइते भएकाहरूको निःशुल्क उपचार, क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।
विपद् व्यवस्थापन र सडक पूर्वाधारको सुरक्षामा सरकार गम्भीर नबन्दा नागरिकले दुःख पाइरहेको उल्लेख गर्दै सांसद मल्लले समस्याको दीर्घकालीन समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।



