काठमाडौं । बेलायतको लन्डनस्थित ‘पानस गोर्खा रेस्टुरेन्ट’ तथा ‘पानस हेल्पिङ ह्यान्ड्स’का संस्थापक सुजन कटुवाल MBE ले नेपालका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। लन्डनमा सङ्कलित सहयोग रकम उनले औपचारिक रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाएका हुन्।
रसुवा-भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कटुवालले बेलायतमा ‘नेपाल फ्लड इमर्जेन्सी अपिल’ सुरु गरी प्रसिद्ध अभिनेत्री डेम जोआना लम्ले, स्थानीय प्रतिनिधि र गोर्खा समुदायको सहभागितामा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरेका थिए। सहयोग रकम हस्तान्तरणपछि उनी आफैँ प्रभावित क्षेत्रको भ्रमण गरी स्थानीयको वास्तविक आवश्यकता बुझ्न र दीर्घकालीन पुनर्निर्माणका सम्भावना पहिचान गर्न खटिने भएका छन्।
कोभिड-१९ महामारीका बेला बेलायतको स्वास्थ्य सेवा (NHS) का कर्मचारी र घरबारविहीनहरूलाई २ लाख ५० हजारभन्दा बढी निःशुल्क खाना वितरण गरेका कटुवाललाई सामाजिक सेवाको कदरस्वरूप गत जनवरी २०२६ मा बेलायती राजपरिवारकी राजकुमारी एनीबाट MBE (मेम्बर अफ द ब्रिटिस एम्पायर) सम्मान प्रदान गरिएको थियो। उनी आगामी नोभेम्बरमा आयोजना हुने ‘लर्ड मेयर्स शो २०२६’ मार्फत बेलायतमा नेपाली संस्कृति र गोर्खा विरासतको प्रवर्द्धनमा समेत सक्रिय रहनेछन्।



