CLI
Global College

मुख्य ब्रान्डको बिक्री रोकिँदा सीजी मोटर्सको आम्दानी र नाफा घट्यो, इक्रा नेपालले दियो ‘A4’ रेटिङ

काठमाडौं । नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले चौधरी ग्रुप  अन्तर्गतको अटोमोबाइल कम्पनी सीजी मोटर्स प्राइभेट लिमिटेडको ६ अर्ब ४० करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाका लागि ‘[ICRANP] A4’ रेटिङ प्रदान गरेको छ। कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुबाट उपयोग गर्ने फण्ड बेस्ड र नन-फण्ड बेस्ड अल्पकालीन कर्जा सुविधाहरूका लागि यो रेटिङ तोकिएको हो।

इक्रा नेपालका अनुसार रेटिङ निर्धारण गर्दा चौधरी ग्रुपको लामो व्यावसायिक अनुभव, बलियो संस्थागत पृष्ठभूमि तथा अनुभवी सञ्चालक एवं व्यवस्थापन समितिलाई मुख्य सबल पक्षका रूपमा हेरिएको छ। सीजी मोटर्स हाल नेपालमा कमर्सियल भेहिकल , प्यासेन्जर भेहिकल  र दुई पाङ्ग्रे  सवारी साधनहरूको आधिकारिक वितरकका रूपमा कार्यरत छ। कम्पनीले किङ लङ , सीएचटीसी  र हिरो  दुई पाङ्ग्रे सवारी साधनहरूको बिक्री वितरण गर्दै आएको छ।

यसैगरी, कम्पनीको कुल ऋण र खुद सम्पत्तिको अनुपात  मा सुधार आएको देखिएको छ। सन् २०२४ को मध्य-जुलाईमा ७.२ गुणा र २०२५ को मध्य-जुलाईमा ४.७ गुणा रहेको कर्जा अनुपात सुधार भई सन् २०२६ को मध्य-अप्रिलसम्म आइपुग्दा २.४ गुणामा ओर्लिएको छ। आव २०२५ मा भएको पुँजी थप र कुल आम्दानी घटेका कारण वर्किङ क्यापिटल फिर्ता हुनुले यसमा सहयोग पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ।

इक्रा नेपालले सीजी मोटर्सको क्रेडिट रेटिङ सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्थामा रहेका केही प्रमुख जोखिम तथा चुनौतीहरू औंल्याएको छ। प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०२६ को पहिलो ९ महिनामा कम्पनीको आम्दानी वार्षिक रूपमा करिब २१ प्रतिशतले घटेर ८ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ। यसअघि उच्च बिक्री हुने ‘नेटा भी’ र ‘केवाइसी’ ब्रान्डको वितरण कार्य  मे २०२५ र जनवरी २०२६ देखि बन्द हुनुलाई आम्दानी घट्नुको मुख्य कारण मानिएको छ। चारपाङ्ग्रेको तुलनामा कम मार्जिन रहेको दुई पाङ्ग्रे सवारी साधनको बिक्री हिस्सा बढेर ५७ प्रतिशत पुगेको र बजारमा कडा प्रतिस्पर्धाका कारण बिक्री तथा वितरण खर्च वृद्धि हुँदा कम्पनीको सञ्चालन नाफा मार्जिन  आव २०२४ को १५.१ प्रतिशतबाट घटेर चालु आवको ९ महिनामा ६.८ प्रतिशतमा झरेको छ।

यसैगरी, उच्च स्टक र उधारो उठाउन लाग्ने लामो समयका कारण कम्पनीको वर्किङ क्यापिटल र तरलतामा समेत दबाब परेको छ, जसका कारण नेट वर्किङ क्यापिटल अनुपात ४५ प्रतिशत पुगेको छ। विद्युतीय सवारी  खण्डमा भित्रिएका नयाँ ब्रान्डहरू तथा दुई पाङ्ग्रे खण्डका स्थापित ब्रान्डहरू बजाज, होन्डा, यामाहा, टिभिएस सँगको तीव्र प्रतिस्पर्धाले कम्पनीको नाफामा थप चुनौती थपेको छ। वित्तीय हेर्दा, आव २०२४ मा ६ अर्ब ९९ करोड ८० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आव २०२५ मा बढेर १५ अर्ब २ करोड ३० लाख रुपैयाँ पुगेको भए पनि चालु आवको ९ महिनामा ८ अर्ब ८९ करोड रुपैयाँमा सीमित छ। सोही अवधिमा ऋण भुक्तानी क्षमता दर्शाउने डेब्ट सर्भिस कभरेज रेसियो  ३.० गुणाबाट घटेर १.९ गुणामा ओर्लिएको छ। आगामी दिनमा कम्पनीले आम्दानी, नाफा, वर्किङ क्यापिटल र तरलता व्यवस्थापनलाई कसरी अगाडि बढाउँछ भन्ने कुरा नै उसको भावी क्रेडिट रेटिङका लागि निर्णायक हुने इक्रा नेपालले जनाएको छ।

चौधरी ग्रुपको यो कम्पनीको देशभर ७५ वटा डिलर, १० वटा आफ्नै स्वामित्वका सोरुम तथा २१ वटा सर्भिस सेन्टर छन् । चौधरी ग्रुपको सीजी फ्युचर फ्याक्ट्रीले सन् २०२४ देखि नेपालमै हिरो ब्रान्डको स्कुटर तथा मोटरसाइकलको एसेम्बल गर्दै आएको छ ।

Leave Your Comment

Related News