CLI
Global College

गभर्नरको कार्यकाल पाँच वर्ष सम्भव नभए कम्तीमा चार वर्षको कार्यकाल राख्नु आवश्यक छ : सांसद कँडेल

काठमाडौं । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल पाँच वर्ष कायम गर्न प्रस्ताव गरेका छन्। पाँच वर्ष सम्भव नभए कम्तीमा चार वर्षको कार्यकाल राख्नुपर्ने उनको भनाइ छ।

बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद कँडेलले यस्तो धारणा राखेका हुन्। उनले राष्ट्र बैंकको स्वायत्तता, समन्वय र सरकारी नियन्त्रणका विषयमा समितिको छलफलमा एकरूपता नदेखिएको समेत बताए। राष्ट्र बैंकलाई स्वायत्त बनाउने, समन्वयका आधारमा सञ्चालन गर्ने वा नेपाल सरकार तथा अर्थ मन्त्रालयको मातहतमा राख्ने भन्ने विषयमा स्पष्ट सिद्धान्त तय गर्नु आवश्यक छ, उनले भने ।

गभर्नरको कार्यकाल तीन वर्ष राखेर थप दुई वर्ष गर्न सकिने व्यवस्था उपयुक्त नभएको भन्दै कँडेलले यस्तो प्रावधानले स्वायत्त निर्णय क्षमतामा असर पर्न सक्ने तर्क गरे। उनले भने, ‘तीन वर्षको कार्यकाल र दुई वर्ष थप भनेपछि एउटा त तीन वर्ष थोरै अवधि भयो। एक वर्ष त सिक्नै करिब–करिब लाग्छ।’

उनले बाह्य मुलुकहरुमा गभर्नरको कार्यकाल चार, पाँच वा त्यसभन्दा बढी वर्ष रहेको स्पष्ट पारे । राजनीतिक नेतृत्वको कार्यकालभन्दा गभर्नरको कार्यकाल लामो हुनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको उनको भनाइ छ। भारतमा पाँच वर्षसम्म नियुक्त गर्न सकिने व्यवस्था रहेको र अन्य मुलुकमा पनि चारदेखि आठ वर्षसम्मका कार्यकाल रहेकाले नेपालमा पनि पाँच वर्षको निश्चित कार्यकाल राख्नुपर्ने उनले बताए।

कँडेलले राष्ट्र बैंकको वार्षिक प्रतिवेदन नेपाल सरकारको अर्थ मन्त्रालयमा मात्र बुझाउने व्यवस्थाको सट्टा संसद्प्रति पनि प्रत्यक्ष उत्तरदायी हुने व्यवस्था गर्नुपर्ने बताए। उनले भने, ‘एउटा महत्त्वपूर्ण नियामक निकायलाई प्रतिवेदन संसद्मा बुझाउने र संसद्प्रति उत्तरदायी बनाउने चलन संसारभरि धेरै छ।’

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच समन्वय आवश्यक रहेको स्वीकार गर्दै अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितिमा रहने तथा सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्थामा आफूले समर्थन गरेको उनले बताएका छन्। तर, गभर्नरको तीन वर्षे कार्यकाल र थप दुई वर्षको प्रावधान भने अन्य व्यवस्थासँग मेल नखाने उनको धारणा छ।

समितिको निर्णयलाई सम्मान गर्ने बताउँदै कँडेलले आफूले उक्त विषयमा फरक मत राखेको स्पष्ट पारे। ‘समिति सार्वभौम छ। समितिले गर्ने निर्णयमा मेरो कुनै त्यस्तो खालको आपत्ति रहँदैन। तर यसमा भिन्न मत पनि थियो भन्ने कुरा दुनियाँले देख्नुपर्‍यो,’ उनले भने।

 

Leave Your Comment

Related News