काठमाडौं । सरकारले १ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ। हाललाई काठमाडौं उपत्यकाबाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिइएको छ।
यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकाभित्र भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका लागि मात्र सार्वजनिक सवारीसाधन दर्ता खुला गरिएको छ। विभागले सोहीअनुसार सवारीसाधन दर्ता गर्न सबै प्रदेश सरकारलाई सूचित गरेको छ।
सरकारले यसअघि ७ जेठ २०८३ देखि सार्वजनिक सवारीसाधनको दर्ता रोकेको थियो। दर्ता रोक्नुको कारण र अहिले कुन आधारमा पुनः दर्ता खुलाइएको हो भन्ने विषयमा विभागका अधिकारीले स्पष्ट जानकारी दिएका छैनन्।
विभागका निर्देशक मणिराम भुसालका अनुसार काठमाडौं उपत्यकाभित्रका रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राखेर उपत्यकाबाहिर मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको हो।
विभागले मालवाहक सवारीसाधनको दर्ता भने १८ साउनदेखि नै खुला गरिसकेको थियो। त्यसअघि ८ असारसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधनसमेत दर्ता गरिएको विभागले जनाएको छ।



