RE
Global College

प्रधानमन्त्री शाहले ग्यास अभावबारे स्पष्ट जवाफ दिनुपर्छ : एमाले सांसद बराल

काठमाडौं । नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा देखिएको ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले ग्यास नपाउँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरिन् ।

उनले ग्यास अभाव, बजारमा भइरहेको मूल्यवृद्धि र सर्वसाधारणले भोगिरहेको समस्याबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन् । जनताको आधारभूत आवश्यकतासमेत पूरा हुन नसक्दा सरकार र सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठेको उनको भनाइ थियो ।

सांसद बरालले सरकारको नैतिकतामाथि समेत प्रश्न उठाउँदै अघिल्लो सरकारको नैतिकता खोज्नेहरू अहिले जनताको समस्याप्रति किन मौन रहेको भन्दै आलोचना गरिन् ।

उनले सभामुख डोलप्रसाद अर्यालमार्फत सरकारलाई ग्यास अभावको कारणबारे तत्काल जानकारी लिन र समस्या समाधानका लागि निर्देशन दिन आग्रह गरिन् ।

‘जनताका समस्या किन समाधान हुँदैनन् ? ग्यासको समस्या किन छ ? यो कुराको तत्काल जानकारी पाउनुपर्छ,’ उनले भनिन् ।

सांसद बरालले नागरिक दिनप्रतिदिन निराश र पीडित हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई गम्भीर भएर ग्यासलगायत आधारभूत राहत सामग्री सहज रूपमा उपलब्ध गराउन ध्यानाकर्षण गराइन् ।

 

Leave Your Comment

Related News