RE
Global College

विपद्का कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

काठमाडौं । प्राकृतिक विपद्का कारण सम्पत्ति विवरण बुझाउन नसकेका राष्ट्रिय किताबखानासँग सम्बन्धित राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन थप ३० दिनको समय दिइएको छ ।

राष्ट्रिय किताबखाना (निजामती) हरिहरभवन, ललितपुरले बिहीबार जरुरी सूचना जारी गर्दै रसुवा–भोटेकोसी बाढीका कारण निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई म्याद थप गरिएको जनाएको हो ।

सरकारले रसुवा–भोटेकोसी बाढीका कारण प्रभावित क्षेत्र घोषणा गरेका क्षेत्रमा कार्यरत तथा राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी दायित्व भएका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि यस्तो व्यवस्था गरिएको हो ।

सूचनाअनुसार थप गरिएको म्याद २०८३ असोज २८ गतेसम्म कायम रहनेछ । यस अवधिभित्र सम्पत्ति विवरण पेस गर्न सम्बन्धित सबै राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरिएको छ ।

थपिएको म्यादभित्र सम्पत्ति विवरण पेस गर्दा प्राकृतिक विपद्का कारण निर्धारित समयमा विवरण पेस गर्न नसकेको स्पष्ट व्यहोरा खुलाउनुपर्नेछ । साथै, सम्बन्धित कार्यालय प्रमुखबाट जारी गरिएको आधिकारिक सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने राष्ट्रिय किताबखानाले जनाएको छ ।

राष्ट्रिय किताबखानाले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित क्षेत्र घोषणा गरिएको नेपाल राजपत्रको प्रतिलिपिसमेत सूचनासँगै संलग्न गरेको छ ।

Leave Your Comment

Related News