RE
Global College

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

काठमाडौं । भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपैयाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्मको भुटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका थिए। दुवै पक्षले भारत–भुटान ऊर्जा साझेदारीमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै एक हजार २० मेगावाटको पुनात्साङछु–२ जलविद्युत् आयोजना उद्घाटन र एक हजार २०० मेगावाटको पुनात्साङछु–१ आयोजनाको बाँध निर्माण पुनः सुरु भएको विषयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन्।

भुटानका विभिन्न जलविद्युत् आयोजनामा भारतीय कम्पनीको सक्रिय सहभागिताको पनि स्वागत गरिएको छ । भ्रमणका क्रममा मोङ्गरमा ६५ शय्याको मातृ तथा बाल अस्पताल, सामद्रुप जोङ्खर–त्राशिगाङ राजमार्गको जगन्नाथन पुल र ५०० किलोवाटको लुनाना जलविद्युत् आयोजनालगायत विकास परियोजनाको उद्घाटन गरिएको थियो ।

जयशङ्करले भुटानको विकास लक्ष्य र प्राथमिकतामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्‍याए। दुवै पक्षले गेलेफु माइन्डफुलनेस सिटी, व्यापार तथा पारवहन, सीमापार सम्पर्क, डिजिटल भुक्तानी र अन्तरिक्ष सहकार्यबारे पनि छलफल गरेका छन्।

भारतले गेलेफुमा आवागमन सहज बनाउन असमको हातिसरमा अध्यागमन जाँच चौकी स्थापना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । गेलेफु–कोक्राझार र समत्से–बनारहाट सीमापार रेलमार्गमा भएको प्रगतिका साथै भुटानी नागरिकलाई भारतमा युपीआईमार्फत डिजिटल भुक्तानी गर्न सकिने सुविधाको पनि स्वागत गरिएको छ।

शिक्षातर्फ भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को छात्रवृत्तिअन्तर्गत भुटानी विद्यार्थीको सङ्ख्या ३० बाट ६० तथा नालन्दा विश्वविद्यालय छात्रवृत्तिको सिट ३० बाट ५५ पुर्‍याउने निर्णय गरिएको छ। भ्रमणका क्रममा जयशङ्करले भुटानका विदेश मामिला तथा विदेश व्यापारमन्त्री डीएन धुङ्ग्याललाई भारत भ्रमणको निमन्त्रणा पनि दिए।

Leave Your Comment

Related News