काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले एक सेयर बराबर एक सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनीले आगामी नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा आह्वान गर्दै उक्त प्रस्ताव पेस गर्ने भएको हो ।
कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक गर्ने निर्णय गरेको छ । सभा असोज २७ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबार प्रालिमा बिहान १० बजे बस्नेछ । सभामा आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने र चालू आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको ठेगाना तथा पूँजी संरचना परिवर्तन गर्ने, हकप्रद सेयर खरिदसम्बन्धी हक हस्तान्तरण गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव राखिएको छ । त्यस्तै एक सेयर बराबर एक शेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट पारित गराउने तयारी कम्पनीको छ ।
कम्पनीले हकप्रद सेयर जारी गर्न आवश्यक पर्ने नियामकीय प्रक्रिया तथा प्रबन्धपत्र र नियमावलीमा हुने संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव आएमा त्यसअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावसमेत राखेको छ ।
सभाले सञ्चालक समिति गठन गर्ने तथा एक महिलासहित तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छलफल गर्नेछ । साधारण सभा प्रयोजनका लागि असोज १५ गते एक दिन बूक क्लोज रहनेछ । असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा सहभागी भई मतदान गर्न पाउने कम्पनीले जनाएको छ ।



