काठमाडौं । भदौ महिनामा वैदेशिक रोजगारीका लागि ६० हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पुनः श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला छन्।
सीपअनुसार हेर्दा सबैभन्दा धेरै दक्ष श्रमिकले पुनः श्रम स्वीकृति लिएका छन्। दक्ष श्रमिकको संख्या ३४ हजार १६७ रहेको छ। यसमा २९ हजार ३५० पुरुष र ४ हजार ८१७ महिला छन्।
त्यस्तै अदक्ष श्रमिक १६ हजार ५८ जना रहेका छन्। यसमा १३ हजार ६९० पुरुष र २ हजार ३६८ महिला छन्।
भदौमा अर्धदक्ष श्रमिक ९ हजार ४६६ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यसमा ८ हजार ५१७ पुरुष र ९४९ महिला छन्।
यसैगरी व्यावसायिक श्रमिक २७१ जना रहेका छन्। त्यसमध्ये २१९ पुरुष र ५२ महिला छन्।
सबैभन्दा कम उच्च दक्ष श्रमिकले पुनः श्रम स्वीकृति लिएका छन्। उच्च दक्ष श्रमिकको संख्या ८० रहेको छ, जसमा ६७ पुरुष र १३ महिला छन्।
विभागको भदौ २०८३ को सीपगत तथ्यांकअनुसार पुनः श्रम स्वीकृति लिने कुल ६० हजार ४२ जनामध्ये ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला रहेका छन्।
देशगत विवरणअनुसार भदौमा सबैभन्दा धेरै श्रम स्वीकृति संयुक्त अरब इमिरेट्स (यूएई) का लागि जारी भएको छ। यूएईका लागि १० हजार ९७८ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसमध्ये ९ हजार ५८२ पुरुष र १ हजार ३९६ महिला छन्।
त्यसपछि मलेसियाका लागि ५ हजार ३५९, कतारका लागि २ हजार ८४९, साउदी अरेबियाका लागि २ हजार २०५ र कुवेतका लागि १ हजार ९०५ जनाले श्रम स्वीकृति लिएका छन्।
जापानका लागि १८६, ओमानका लागि ७९१, साइप्रसका लागि ६७६ र बहराइनका लागि २९७ जनाले श्रम स्वीकृति लिएका छन्। साइप्रसमा भने महिला श्रमिकको संख्या पुरुषको तुलनामा बढी रहेको छ। साइप्रसका लागि १८७ पुरुष र ४८९ महिलाले श्रम स्वीकृति लिएका छन्।
यस्तै, मौरिससका लागि ५९, जोर्डनका लागि ९३ र श्रीलंकाका लागि १२ जनाले श्रम स्वीकृति लिएका छन्।



