RE
Global College

माथिल्लो त्रिशूली-१ बाढी: ३९ जनाको मृत्यु, ४३९ जना अझै बेपत्ता

काठमाडौं । रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (NWEDC) ले विज्ञप्ति जारी गर्दै बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको र ४३९ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।

बाढी आउने समयमा आयोजनास्थलमा प्रवर्द्धक कम्पनी, परामर्शदाता, मुख्य निर्माण व्यवसायी कोरियन कम्पनी डुसान, सिभिल सब-कन्ट्र्याक्टर पावर चाइना र इलेक्ट्रोमेकानिकलतर्फको एन्ड्रिज हाइड्रोका नेपाली, कोरियाली, चिनियाँ र भारतीयसहित करिब १,४३३ जना जनशक्ति कार्यरत थिए। जसमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आएका छन्।

सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएकाले कम्पनीले आफ्नै खर्चमा हेलिकोप्टरमार्फत दुईवटा मिनी एस्काभेटर, जेनेरेटर, र ग्यास-कटिङ उपकरण आयोजनास्थल पुर्‍याएर उद्धार कार्य सञ्चालन गरिरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कोरियाली विज्ञ र आयोजनाको संयुक्त टोलीले सुरुङ (अडिट-३), भूमिगत विद्युत् गृह र भीर-पहरामा खोजी गरिरहेका छन्। खोजी कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त कुकुर र पर्वतारोही उद्धार टोली समेत परिचालन गरिएको छ।

आयोजनास्थलबाट निकालिएका शवहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुरस्थित सेनाको क्याम्पमा ल्याइएको र आफन्तहरूलाई सनाखतका लागि सहजीकरण भइरहेको छ। साथै, कम्पनीले मृतकका परिवारलाई प्रारम्भिक राहतस्वरूप काजक्रिया खर्च उपलब्ध गराउनुका साथै सम्पर्कविहीनका परिवारलाई मनोसामाजिक परामर्श प्रदान गरिरहेको जनाएको छ।

NECO

Leave Your Comment

Related News