RE
Global College

नयाँ प्राधिकरण नबनाउने व्यवस्थापन प्राधिकरणलाई शक्तिशाली बनाइने : पूर्वाधार मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा–भोटेकोशी बाढीको पुनर्निर्माणको लागि नयाँ प्राधिकरण नबनाउने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले नयाँ प्राधिकरण नबनाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई शक्तिशाली बनाइने बताए ।

हाल रसुवा बाढीलाई लक्षित गर्दै नयाँ प्राधिकरण भने गठन गर्ने योजना सरकारको छैन । यसका लागि विधेयक निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

‘हामी कानुनी सुधारमार्फत विपद् प्राधिकरणलाई शक्तिशाली बनाउँछौं,’ उनले भने, ‘छिट्टै त्यसबारे विधेयक आउँदैछ ।’

उनले पूर्वाधारतर्फको पुनर्निर्माणमा मात्र १ खर्ब हाराहारी बजेट लाग्ने समेत जानकारी दिए ।

अहिले अन्य आयोजनाबाट बजेट ल्याएर पुनर्निर्माणको काम थालिहाल्ने र पुनर्निर्माणको बजेट सुनिश्चित भएसँगै सोधभर्ना गर्ने मोडलबाट काम सुरु गर्ने योजना रहेको समेत मन्त्री लम्सालले बताए ।

उनले रसुवा क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको समेत बताए ।

उनका अनुसार मन्त्रालयको जिम्मामा विपद्ले क्षतिग्रस्त बनाएका सडक पुल, खानेपानी संरचना सम्भव भएसम्म तत्काल खोल्ने र नभएको स्थानमा पुनर्निर्माण गर्नु पर्ने रहेको छ भने सरकारले सोही अनुसार द्रुतगतिमा काम गरिरहेको मन्त्री लम्सालको भनाई छ । ‘बाढी आएकै दिन मन्त्रिपरिषद् बैठक बस्यो, अबण्डा बजेटबाट काम तत्कालै थाल्ने निर्णय भयो,’ उनले भने, ‘अहिले हाम्रो प्राथमिकता कनेक्टिभिटि सूचारु गर्ने र तत्काल खानेपानी जस्ता सुविधा पुनर्स्थापित गर्नेमा केन्द्रित छ ।’

असोज महिनाभरीमा ठूलो निर्माणबाहेक यातायात सूचारु गरिसक्ने लक्ष्यसहित काम भइरहेको समेत उनले जानकारी दिए ।

अहिले आपतकालीन ठेक्काको प्रावधान अनुसार नै १२ भदौबाट विभिन्न काममा ठेक्का लगाउन सुरु भएको र यो क्रम जारी रहेको समेत उनले बताए ।

 

 

Leave Your Comment

Related News