काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।
उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।
छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका छन् ।
वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।




