RE
Global College

विपद्को पूर्वतयारीमा जुट्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।

पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङसहित जल तथा मौसम विज्ञान विभाग पुगेका मन्त्री श्रेष्ठले पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रुपमा परिचालित हुन निर्देशन दिएका हुन् । ‘पूर्वतयारी र पूर्वसूचनामा एकीकृत भएर उच्च समन्वयमा काम गर्नुस्,’ उनले मौसम विभागका अधिकारीलाई निर्देशन दिए ।

मन्त्री श्रेष्ठले गृहमन्त्री मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा एकीकृत समन्वय भई पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिनुपर्ने बताए ।

‘प्रभावित क्षेत्रमा अहिले नै सूचना सर्कुलेट गर्नुस् । तपाईहरु एकदम अलर्ट भएर वेल कोर्डिनेट भएर लाग्नुस्,’ उनले भने । कुन क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने समन्वय गरेर विपद् प्राधिकरणमार्फत पूर्वतयारी जुट्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले यसपटक सरकारले पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई विशेष जोड दिएको बताए । मन्त्री श्रेष्ठले कृषि, पर्यटन, यातायातलगायत सबै क्षेत्रलाई सतर्कता अपनाउन सरकारको तर्फबाट आह्वान गरे । ‘सरकारको तर्फबाट अनुरोध गर्छु कि यात्रा गर्दा सुसूचित भएर गर्नुस् । चाँडबाँडको बेला छ । कहि पनि यात्रा गर्नुअघि जानकारी लिएर गर्नुस्,’ उनले भने । मन्त्री श्रेष्ठ सम्भावित क्षेत्रमा पूर्वतयारीका लागि उद्धारकर्मी र सुरक्षाकर्मी तयारी अवस्थामा रहेको बताए । रसुवाको भोटेकोशी बाढीबाट सिकेर यसपालि पूर्वतयारीलाई विशेष ख्याल गरिएको बताए ।

‘मलाई अलिकति चिन्ता के छ भने जुन अस्ति ऊर्जाको हाइड्रोमा जुन खालको क्षति त्यहाँ व्यहोर्यौ, यो पालि त्यस्तो खालको हुन्छ कि ? तर राम्रो के भएको छ भन्दा यही जल तथा मौसम विज्ञान विभागमा निजी क्षेत्रका र विद्युत प्राधिकरणका मान्छेलाई पनि सूचना प्रवाह गर्ने प्रणाली छ,’ उनले भने ।

विपद प्राधिकरणसँग तीनै तहको सरकारको बलियो समन्वय हुनुपर्ने उनको भनाइ थियो । ‘विपद् प्राधिकरणले जिल्ला विपद् र स्थानीय तहसँग कोर्डिनेट गर्यो भने अझै राम्रो हुन्छ । कोर्डिनेसनहरु बेटर हुन्छ । प्रदेश सरकारसँग पनि गर्नुपर्छ,’ उनले भने, ‘सूचनाहरुलाई राम्रोसँग फ्लो गरिदिनुस् ।’ मन्त्री श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिकेर ९ देखि ११ सम्मको अवधिमा सुसूचित भइदिन र आफ्ना प्रियजनलाई सतर्क गरिदिन तथा विपद् प्राधिकरणबाट जारी हुने सर्कुलेसन पालना गर्न अपिलसमेत गरे ।

Leave Your Comment

Related News