काठमाडौं । चाडपर्वको समयमा बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने नबेच्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावको कारण देखाउँदै यस वर्ष दसैँमा खसी-च्याङ्ग्रा बिक्री नगर्ने जनाएको हो।
बजारको बढ्दो मूल्यलाई सन्तुलनमा राख्न कम्पनीले हरेक वर्ष दसैँको समयमा उपत्यकामा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा ल्याउने गर्थ्यो। तर, कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन। सोही कारण कम्पनीले यसपटक उपत्यकामा सहुलियतका चौपाया नल्याउने निर्णय गरेको हो।
कम्पनीले २०८१ सालको दसैँमा १ हजार ५ सय खसी-बोका र ३ सय च्याङ्ग्रा ल्याएर सहुलियत मूल्यमा बिक्री गरेको थियो। त्यसबेला जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्राको मूल्य १ हजार २३० रुपैयाँ निर्धारण गरी उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री गरिएको थियो।
गत वर्ष कम्पनीले च्याङ्ग्रा बिक्रीका लागि अनलाइन बुकिङसमेत खुला गरेको थियो। तर, पहिरोका कारण राजमार्ग अवरुद्ध भई खसी-च्याङ्ग्रा ल्याउन नसकेपछि बुकिङ नै रद्द गर्नुपरेको थियो।
चौपाया खरिद–बिक्री केन्द्रका अनुसार यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा मात्रै ३५ देखि ४० हजार खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान छ।




