RE
Global College

न्यूनतम पुँजीकोष र नगद मौज्दात नपुग्दा ६ लघुवित्त कारबाहीमा, चारलाई शीघ्र सुधारात्मक र दुईलाई नगद जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा वित्तीय नियम, जोखिम व्यवस्थापन र नियामक मापदण्ड पालना नगर्ने छ वटा “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूमाथि कडा कारबाही गरेको छ।

केन्द्रीय बैंकले जारी गरेको प्रतिवेदन अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने चार वटा लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने अनिवार्य नगद मौज्दात कायम नगर्ने दुई वटा लघुवित्तलाई नगद जरिवाना गराइएको छ।

फरवार्ड लघुवित्त, धौलागिरि लघुवित्त, मातृभूमि लघुवित्त र एनआईसी एशिया लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात कायम नगरेकाे भन्दै शीघ्र सुधारात्मक कारबाही गरिएको हो। त्यस्तै, अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै वीन नेपाल लघुवित्त र सञ्जीवनी लघुवित्तलाई जरिवाना गरिएको छ।

फरवार्ड लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम संस्थामाथि कारबाही गरेको जनाएको छ।

त्यस्तै, धौलागिरी लघुवित्तले ६.३८ प्रतिशत र एनआईसी लघुवित्तले ६.३९ प्रतिशत मात्र न्यूनतम पुँजीकोष अनुपात कायम गरेका थिए। यी दुवै संस्थालाई पनि विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

मातृभूमि लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात भने ४.०८ प्रतिशत मात्र थियो। नियामकीय मापदण्डभन्दा निकै कम पुँजीकोष कायम गरेपछि उक्त संस्थालाई विनियम ३(ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको हो।

राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात कायम नगर्ने दुई लघुवित्तलाई नगद जरिवानासमेत गरेको छ। वीन नेपाल लघुवित्त वित्तीय संस्थाले २०८२ चैतमा अनिवार्य नगद मौज्दात कायम नगरेपछि पहिलो पटकका लागि ५८ रुपैयाँ ३८ पैसा नगद जरिवाना गरिएको छ।

त्यस्तै, सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दात कायम नगरेको राष्ट्र बैंकले जनाएको छ। उक्त संस्थालाई क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो पटकका लागि ७१३ रुपैयाँ ८८ पैसा, १ हजार ६७ रुपैयाँ ४० पैसा, १ हजार ४१२ रुपैयाँ ९१ पैसा र १ हजार ४१० रुपैयाँ ७८ पैसा नगद जरिवाना गरिएको छ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरूले नियामकीय मापदण्डअनुसार पुँजीकोष तथा अनिवार्य नगद मौज्दात कायम गर्नुपर्ने व्यवस्था पालना नगरेको अवस्थामा नियमानुसार कारबाही गर्दै आएको छ।

Leave Your Comment

Related News