काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल सञ्चालनमा भएको ५१ वटा लघुवित्तको जोखिम भारित सम्पत्ति ११ प्रतिशतले बढेको जनाएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण आर्थिक वर्ष २०८२/८३ प्रतिवेदनमार्फत् सो कुरा जनाएको हो ।
आर्थिक वर्ष २०८३ को असारसम्म ५१ वटा लघुवित्तको जोखिम भारित सम्पत्ति ५ खर्ब ९८ अर्ब १६ करोड रहेको छ । जुन २०८२ असारको तुलनामा ११.४० प्रतिशतले बढी हो । गत २०८२ असारसम्म ती लघुवित्तहरुको जोखिम भारित सम्पत्ति ५ खर्ब ५५ अर्ब २ करोड रहेको थियो । यसैगरी २०८१ असारसम्म ५१ वटा लघुवित्तहरुको जोखिम भारित सम्पत्ति ५ खर्ब १२ अर्ब ५४ करोड रहेको थियो ।
यसरी लघुवित्तहरुको जोखिम भारित सम्पत्ति निरन्तर बढेको देखिन्छ । जोखिम भार वृद्धिसँगै उक्त क्षेत्रमा कर्जा लगानी गर्न निरुत्साहित हुने प्रवृत्ति रहेको छ । लघुवित्तहरुको जोखिम भार वृद्धि हुँदा यसको व्यवस्थापन गर्ने तथा नियामकको काम गर्ने राष्ट्र बैंकलाई समेत समस्या पर्न हुने राष्ट्र बैंकका एक अधिकारी बताउछन् । लघुवित्तको वित्तीय अवस्था सन्तुलनमा राख्नका लागि राष्ट्र बैंकले लघुवित्तलाई लक्षित गर्दै विभिन्न उपरकणको प्रयोग गर्छ तर जोखिम भारित सम्पत्ति बढ्दै जाँदा यसको व्यवस्थापनमा राष्ट्र बैंकको समेत भूमिका हुने ती अधिकारीको भनाई छ । विद्यमान व्यवस्थाअनुसार राष्ट्र बैंकले गरेको वर्गीकरणअनुसार कर्जाको जोखिम भारको आधारमा कुल कर्जा जोखिम कति प्रशित छ भनेर निकालिन्छ । अधिकारीका अनुसार कुन लघुवित्तको जोखिम भारित सम्पत्ति कति छ भनेर मापन प्रणली नै जोखिम भार हो । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड अनुरुप् लघुवित्तहरुको कुल जोखिम भारित सम्पत्तिको आधारमा पूँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको बताए । ‘लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधानबमोजिम लघुवित्त वित्तीय संस्थाहरुको पूँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ,’ उनले भने ।

त्यस्तै प्रतिवेदन अनुरुप ५१ वटा लघुवित्तहरुको जोखिम भारित सम्पत्ति मात्र नभई चुक्ता पुँजी, प्राथामिक पुँजी र पूँजीकोषको आकार समग्र वृद्धि भएको छ । आर्थिक वर्ष २०८३ को असारसम्म लघुवित्तको चुक्ता पुँजी ४१ अर्ब ५८ करोड रहेको छ । जुन २०८२ असारको तुलनामा ८.२१ प्रतिशतले बढी हो । गत २०८२ असारसम्म ती लघुवित्तहरुको चुक्ता पुँजी ३८ अर्ब ४२ करोड रहेको थियो । यसैगरी २०८१ असारसम्म लघुवित्तहरुको चुक्ता पुँजी ३५ अर्ब ८३ करोड रहेको थियो । आर्थिक वर्ष २०८३ को असारसम्म लघुवित्तको प्राथामिक पुँजी ६८ अर्ब १७ करोड रहेको छ । जुन २०८२ असारको तुलनामा ९.१९ प्रतिशतले बढी हो । गत २०८२ असारसम्म ती लघुवित्तहरुको प्राथमिक पुँजी ६२ अर्ब ४३ करोड रहेको थियो । यसैगरी २०८१ असारसम्म लघुवित्तहरुको प्राथामिक पुँजी ५७ अर्ब ४० करोड रहेको थियो ।
आर्थिक वर्ष २०८३ को असारसम्म लघुवित्तको पूँजीकोष ७५ अर्ब १२ करोड रहेको छ । जुन २०८२ असारको तुलनामा ८.०७ प्रतिशतले बढी हो । गत २०८२ असारसम्म ती लघुवित्तहरुको पूँजीकोष ६९ अर्ब ५१ करोड रहेको थियो । यसैगरी २०८१ असारसम्म लघुवित्तहरुको पूँजीकोष ६३ अर्ब ९० करोड रहेको थियो ।
यसरी लघुवित्तहरुको जोखिम भारित सम्पत्ति मात्र नभई चुक्ता पुँजी, प्राथामिक पुँजी र पूँजीकोषको आकार समग्र वृद्धि हुँदा पनि नियन्त्रण भित्र रहेको पाइन्छ । यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. १-०८२ मा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधानबमोजिम लघुवित्त वित्तीय संस्थाहरुको पँुजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको जनाएको छ । २०८३ असार मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.४० प्रतिशत र १२.५६ प्रतिशत रहेको छ । समिक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी ८.२१ प्रतिशतलेर जोखिम भारित सम्पत्ति ७.७७ प्रतिशतले बढेकोछ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ७.२४ प्रतिशत र ८.२९ प्रतिशतले बढेको थियो।




